काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अधिकृत पुँजी बढेर २ खर्ब रुपैयाँ पुग्ने भएको छ । विद्युत प्राधिकरणको पुँजी २ खर्ब रुपैयाँ कायम गर्न सहमति प्रदान गरेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको ४५ दिनको उपलब्धि विवरण सार्वजनिक गर्दै उनले अधिकृत पुँजी बढाउन अनुमति दिएको जानकारी गराएका हुन । प्राधिकरणको चुक्ता पुँजी १ खर्ब ५९ अर्ब ८२ करोड रुपैयाँ थियो । यो डिसेम्बरसम्मको हो ।
प्राधिकरणले प्रिमियम मूल्यमा सर्वसाधारणलाई समेत सेयर बिक्रीको तयारी गरेको छ । प्राधिकरणले गत वर्ष सबैभन्दा बढी १६ अर्ब १६ करोड ५० लाख रुपैयाँ खुदनाफा गरेको छ ।
विद्युत खपतमा भएको वृद्धि, विद्युत चुहावट नियन्त्रण, प्राधिकरणको विद्युत गृहबाट उत्पादित बिजुली परिमाणमा भएको वृद्धि, ४५६ मेगावाटको माथिल्लो तामाकोसीको सञ्चालन, विद्युत आयातमा कमी तथा निर्यातमा भएको वृद्धि, अन्य आयमा भएको वृद्धि तथा खर्च नियन्त्रण आदि कारणले उक्त नाफा आर्जन गर्न सम्भव भएको हो ।
प्रतिष्ठित संस्था इन्टरनेसनल क्रेडिट रेटिङ एसोसिएसन लिमिटेड, नेपालले प्राधिकरणको समग्र स्थितिको मुल्याँकन गरी सुदृढ आर्थिक क्षमता रहेको र वित्तीय रुपले सुरक्षित संस्थाको रुपमा डबल ए प्लस क्रेडिट रेटिङ प्रदान गरेको छ । प्राधिकरणलाई आफ्नो केही सेयर सर्वसाधारणलाई बिक्री गरी थप लगानीको स्रोत जुटाउन बाटो खुलेको छ ।
२०४१ सालमा आएको विद्युत प्राधिकरण ऐनमा भएको व्यवस्थाबमोजिम सर्वसाधारणलाई आइपिओ जारी गर्ने तयारी छ । ऐनमा प्राधिकरणको सेयर पुँजी सरकारले तोक्ने व्यवस्था छ ।
प्राधिकरणले निष्कासन सन गरेको सेयरमध्ये सरकारले खरिद गरी बाँकी रहेको सेयर मात्र सर्वसाधारण जनतालाई बिक्री गरिने व्यवस्था रहेको छ । सरकारले प्राधिकरणको दोस्रो वित्तीय पुनःसंरचनाअन्तर्गत सेयर निश्कासनका लागि सहमति दिइसकेको छ ।
चालू आर्थिक वर्षको बजेटमा प्रिमियम मूल्यमा प्राधिकरणको आइपिओ निष्कासन गर्ने उल्लेख छ । आइपिओ निष्कासन गर्न प्राधिकरणलाई कम्पनी मोडेलमा लैजानुपर्ने हुन्छ । त्यसपछि विद्युत नियमन आयोगको सहमति लिएपछि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएपछि आइपिओ निष्कासनको प्रक्रिया अघि बढ्ने छ ।