काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । संस्थाका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष रुपमा संलग्न भई हितविपरित व्यक्तिगत लाभको मात्र काम गरेपछि केन्द्रीय बैंकले सुपर लघुवित्तलाई बुधबारदेखि लागु हुने गरी समस्याग्रस्त घोषणा गरेको हो ।
लघुवित्तले अब वित्तीय कारोबार गर्न पाउने छैन । सुपर लघुवित्तले ऋण असुली र निक्षेप फिर्ता गर्न मात्र पाउने छ । अन्य काम गर्न केन्द्रीय बैंकको पूर्व स्वीकृति लिनुपर्ने हुन्छ ।
संस्थाको २०७८ असोजसम्मको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षणबाट सुपर लघुवित्तका सञ्चालक समितिका अध्यक्ष, सदस्यहरु प्रत्यक्ष सहभागी भई संस्थागत हितविपरीत व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरेर ऋणको दुरुपयोग गरेको राष्ट्र बैंकले जनाएको छ ।
यस्तै सुपर लघुवित्तको पुँजी कोष १०.३१ प्रतिशत ऋणात्मक भएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्रसुधारात्मक कारबाही सम्बन्धि विनियमावलीबमोजिम समस्याग्रस्त घोषणा गरेको हो ।
संस्थामा समस्या आएपछि केन्द्रीय बैंकले २०७८ चैत २ गते स्पष्टिकरण सोधेको थियो । तर, चित्तबुझ्दो जवाफ नआएपछि राष्ट्र बैंक ऐनको दफा ८६ ख बमोजिम सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरिएको केन्द्रीय बैंकले स्पष्टपारेको छ ।
संस्थाले गत आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण मात्र सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तेस्रो र चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छैन ।
गत आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार सुपर लघुवित्तले १६ लाख २७ हजार रुपैयाँ खुदनाफा गरेको उल्लेख छ । संस्थाको चुक्ता पुँजी १ करोड ९५ लाख रुपैयाँ रहेको छ ।
सुपर लघुवित्तको जगेडा कोषमा ४ करोड ३४ लाख रुपैयाँ छ । सो अवधिमा संस्थाले ५१ करोड ७८ लाख रुपैयाँ सापटी लिएको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । लघुवित्त संस्थाले प्राथमिक सेयर (आइपिओ) निष्कान गरेको छैन ।
सन २००२ मा सोसियल अपग्रेड इन प्रोगेस अफ एजुकेसनल रिजन (सुपर) नामक वित्तीय गैर सरकारी संस्था (फिङगो) को रुपमा स्थापना भएको हो । संस्था महिलालाई ऋण दिन स्थापना भएको हो ।
२०७६ असार ३१ गते राष्ट्र बैंकले घ वर्गको वित्तीय संस्थाको अनुमतिपत्र (लाइसेन्स) दिएको हो । संस्थाको कार्यक्षेत्र लुम्बिनी प्रदेश रहेको छ । केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा छ ।
लघुवित्तको सञ्चालकमा किरण चौधरी, प्रदेश चौधरी, नरेन्द्रबहादुर चन्द, तारा चौधरी, रामप्रसाद चौधरी छन्। किरण संस्थाका अध्यक्ष हुन् भने कामु प्रमुख कार्यकारी अधिकृतमा बुद्धिराम चौधरी रहेका छन।