काठमाडौं । व्यापारिक घराना केएल दुगड ग्रुपको खाद्यान्न तथा तेल व्यापारमा उछाल आएको छ । ग्रुप अन्र्तगतका तीन उद्योगले एक वर्षमै करिब १६ अर्ब रुपैयाँबराबरको व्यापार गरेका छन् ।
गत वर्ष ग्रुपका ती तीन उद्योगले १५ अर्ब ९१ करोड रुपैयाँबराबरको कारोबार गरेका थिए । सबैभन्दा बढी कारोबार स्वस्तिक आयल इन्डस्ट्रिज प्रालिको छ । स्वास्तिकले ११ अर्ब ७७ करोड ४० लाख रुपैयाँको खानेतेल कारोबार गरेको छ ।
त्यस्तै उसको सौरभ आयल एन्ड एग्रो इन्डस्ट्रिजले १ अर्ब ९३ करोड ४० लाख र विकास फुड प्रडक्ट प्रालिले २ अर्ब २० करोडको कारोबार गरेको छ ।
ग्रुपको खाद्यान्न र तेलअतिरिक्त सिमेन्ट, जलविद्युत, बैंक तथा वित्तीय संस्थामा लगानी छ । ग्रुपको युनाइटेड सिमेन्ट साथै नेपाल हाइड्रो डेभलपर्स र मोदी हाइड्रोपावर लिमिटेडमा ठूलो सेयर लगानी छ ।
ग्रुपले तेल, खाद्यान्न, चिया, चामल, दाल र मसला गरी १ सय ८० वस्तु उत्पादन तथा बिक्री वितरण र निर्यातसमेत गर्दै आएको छ । कृषि केन्द्रित ग्रुपको खाद्यान्न तथा तेल बजारमा ठूलो हिस्सा छ ।
स्वस्तिक आयलको व्यापार बढ्दै गएको सार्वजनिक वित्तीय विवरणमा छ । जसअनुसार २०२१ मा उद्योगले ११ अर्ब १० करोड र २०२० मा ८ अर्ब २ करोड रुपैयाँबराबरको खानेतेल व्यापार गरेको थियो ।
१० महिनामा उद्योगले ११ अर्ब ७७ करोड ४० लाख रुपैयाँको तेल व्यापार गरेको छ । यो कारोबार २०२१ को तुलनामा बढी हो । उद्योगले स्वास्तिक, धारा, सनफ्लावर र बिगुल ब्रान्डका तेल उत्पादन तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको छ ।
उद्योगले मोहनधारा र नोरिक्स ब्रान्डको तेल भारत निर्यात गर्दै आएको छ । उद्योगको ‘मार्जिन’ मा सुधार आई १३.८४ प्रतिशत पुगेको छ । यसअघि ११.५५ प्रतिशत थियो । उद्योग नेपाल–भारत सीमा नजिक रहेकाले ढुवानी लागत कम हुन गई लाभ लिँदै आएको छ ।
उद्योग प्रदेश १ को राजधानी विराटनगरमा छ । उद्योगले ४ अर्ब ९७ करोड रुपैयाँबराबरको खानेतेल र वनस्पति घ्यु भारत निर्यात गर्दै आएको छ ।
सन् १९९४ मा स्थापना भएको स्वस्तिक आयलले सोयाबिन तेल, पाम आयल, सनफ्लावर, तोरी तेल र वनस्पति घ्यु उत्पादन तथा प्रशोधन गर्दै आएको छ ।
उद्योगको जडित क्षमता वार्षिक १ लाख ३५ हजार टन छ । त्यस्तै तोरी तेल उत्पादन क्षमता वार्षिक १० हजार टन छ ।
ग्रुपअन्तर्गत सौरभ आयलले एक वर्षमा १ अर्ब ९३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले २०२० मा १ अर्ब ३० करोड ४० लाख र २०१९ मा ९७ करोड ३० लाख रुपैयाँको तेल व्यापार गरेको थियो । तीन वर्षको वित्तीय विवरण हेर्दा सौरभ आयलको कारोबार बढ्दै गएको छ ।
१९९३ मा स्थापित उद्योगले धारा तोरी तेल उत्पादन तथा प्रशोधन गर्दै आएको छ । यसको उद्योग बाँके कोहलपुरमा छ । उद्योगले वार्षिक १० हजार ५ सय टन तेल, १४ हजार ४ सय टन दलहन र ९ हजार ८ सय टन डिआयल केक उत्पादन तथा बिक्री गर्दै आएको छ ।
यसको सहायक उद्योग ज्ञान फुड प्रडक्टलाई सौरभमा समाहित गरेपछि उद्योगको उत्पादन गत वर्ष ४८ प्रतिशतले बढेको थियो । ज्ञान फूड समाहित गर्न सौरभले १४ करोड ४० लाख रुपैयाँ थप लगानी गरेको थियो ।
उद्योगले धारा ब्रान्डमा तोरी तेल र ज्ञान ब्रान्डमा दाल उत्पादन तथा बिक्री गर्छ । नेपाल–भारत सीमा नजिक उद्योग भएकाले ढुवानी लागत कम हुने गरेको छ । यसको फाइदा उद्योगले उठाएको छ । कच्चा वस्तु भारतबाट आयात गर्दै आएको छ । उद्योगले मस्टर्ड केक भारत निर्यात गर्दै आएको छ ।
ग्रुपको अर्को उद्योग विकास फुड प्रडक्टको व्यापार पनि बढेको छ । २०२१ मा उद्योगले २ अर्ब २० करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो ।
ग्रुपले विकास फ्लोर मिलमा प्रतिभा राइस मिल मर्ज गरेको छ । व्यापार गर्न कम्पनीले विकास फुड स्थापना गरेको हो । कम्पनी बाँके धम्बोजीमा छ ।
उद्योगको वार्षिक आँटा उत्पादन क्षमता ३ हजार टन, चामल १६ हजार ९ सय ७६ र चक्की आँटा २५ हजार टन छ ।
त्यस्तै उद्योगको फ्लोर मिल प्लान्ट क्षमता ३२ हजार टन र लिटो उत्पादन क्षमता ४ हजार टन छ । उद्योगको उत्पादन क्षमता वार्षिक ८१ हजार ३ सय ७६ टन छ ।
१४ अर्ब बढी ऋण
झन्डै १६ अर्बको व्यापार गरेको ग्रुपको ऋण १४ अर्बभन्दा धेरै छ । तीन उद्योग सञ्चालन गर्न ग्रुपले विभिन्न बैंकबाट १४ अर्ब २७ करोड ८० लाख रुपैयाँबराबर ऋण लिएको छ । सबैभन्दा बढी ऋण स्वस्तिक आयलको छ । सबैभन्दा बढी खानेतेल व्यापार गर्ने स्वस्तिकको मात्रै १० अर्ब ४६ करोड ८० लाखबराबर ऋण छ ।
त्यस्तै सौरभ आयलको ऋण २ अर्ब १० करोड पुगेको छ । विकास फुडको ऋण १ अर्ब ७१ करोड रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।