काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूले एक वर्षमा करिब सवा ७ करोड रुपैयाँबराबर ‘कमिसन’ फिर्ता गरेका छन् ।
आर्थिक वर्ष २०७७/७८ मा सञ्चालमा रहेका ब्रोकर कम्पनीले लगानीकर्तालाई ७ करोड २० लाख रुपैयाँ कमिसन फिर्ता गरी खर्च दाबी गरेका छन् ।
ब्रोकर कम्पनीले ठूला लगानीकर्तालाई कारोबारवापत उक्त रकम छुट दाबी गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार ५० ब्रोकर कम्पनीले ७ करोड २० लाख रुपैयाँबराबर कमिसन फिर्ता गरी खर्च दाबी गरेका हुन् ।
ब्रोकर कम्पनीले ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र) नियमावली, २०६४’ विपरीत कमिसन फिर्ता गरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सूचना अधिकारी मुराहरि पराजुलीले बताए । ब्रोकर कम्पनीले नियमविपरीत रहेर कमिसन फिर्ता गर्न नपाउने पराजुलीको भनाइ छ ।
‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र) नियमावली, २०६४ विपरीत रहेर ब्रोकर कम्पनीहरूले कमिसन फिर्ता गरेका छन्,’ उनले भने, ‘यस्तै विकृति हुन्छ भनेर नै शुल्क तोकिएको हो ।’पराजुलीले तोकिएको शुल्कमा कमिसन फिर्ता गर्न नपाउने बताए ।
‘अधिकतम शुल्क दर तोक्दा विकृति बढ्छ,’ पराजुलीले क्यापिटल नेपालसँग भने, ‘अधिकतम त यति लिन पाइन्छ । तर, कम त जति पनि लिन पाइन्छ नि भन्दै लगानीकर्ताबाट बढी पैसा लिने, कर कम बुझाउने, नेप्से र बोर्डलाई कम शुल्क बुझाउन सक्छन भनेर नै शुल्क तोकिदिएको हो ।’
कमिसन शुल्क तोकिएको अवस्थामा ब्रोकर कम्पनीले फिर्ता गरेको दाबी गरे पनि फिर्ता गर्ने कुनै आधार नभएको पराजुली बताउँछन् ।
ब्रोकर कम्पनीले यस्तै बदमासी गर्छ भनेर नै महालेखा परीक्षकको कार्यालयले प्रतिवेदन निकाल्ने गरेको पराजुलीले बताए ।
‘नियमविपरीत कमिसन फिर्ता गरेको देखाएर राजस्व छल्न खोज्ने ब्रोकर कम्पनीलाई कर कार्यालयले कारबाही गर्छ,’ उनले भने, ‘दाबी कमिसन फिर्ता गरे वा नगरेको कुनै आधार छैन । फिर्ता गरेको कमिसन खर्चमा देखाउँदा कर कम तिर्नुपर्छ । त्यसैले यस्तो गरेको हुनसक्छन् ।’
शुल्कमात्र लिन पाउने ब्रोकर संस्थाले अनेक बहानामा लगानीकर्तालाई पैसा फिर्ता गर्न नपाउने नेपाल धितोपत्र बोर्डका एक अधिकारीले बताए । ब्रोकर कम्पनीलाई आफैंले ‘टे«डिङ’ गर्न पाउने छुट नदिइएको ती अधिकारी बताउँछन् ।
‘ब्रोकरको काम लगानीकर्ताको सेयर (खरिद र बिक्री) मध्यस्थता गर्ने हो,’ उनले भने, ‘ब्रोकर कम्पनीलाई आफैं टे«डिङ गर्न पाउने छुट छैन । मध्यस्थता गरिदिएवापत शुल्क लिने हो तर, दिने काम होइन ।
’एक आर्थिक वर्षमा ब्रोकरले ७ करोड रुपैयाँभन्दा बढी फिर्ता गरेको उनी बताउँछन् । निश्चित शुल्क तोकिसकेपछि ब्रोकर कम्पनीले कमिसनका रूपमा पैसा फिर्ता गर्न नपाउने उनले बताए ।