काठमाडौं । सिमेन्ट उत्पादन गर्न कारखानाको पूर्वाधार तयार नहुँदै भारतको अम्बुजा सिमेन्ट लिमिटेड औपचारिकरूपमा नेपालबाट बाहिरिएको छ ।
आफ्नो स्वामित्वमा रहेको ८५ प्रतिशत सेयर चीनको होङ्सी सिमेन्टको माउ कम्पनी हङकङ रेडलाइन नम्बर ३ लिमिटेडले स्थापना गरेको एसएचई इन्भेस्टमेन्ट होल्डिङसलाई बिक्री गरी अम्बुजा नेपालबाट बाहिरिएको हो ।
अम्बुजाले एसएचईलाई ६२ करोड रुपैयाँमा २० लाख २९ हजार कित्ता सेयर बिक्री गरेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयले अम्बुजाको सेयर एसएचई इन्भेस्टमेन्टमा नामसारी गरिसकेको छ ।
लगानी गरेको भन्दा २२ करोड ४० लाख रुपैयाँ बढी नाफा कमाएपछि अम्बुजाले ५ करोड ६० लाख रुपैयाँबराबर लाभकर पनि कर कार्यालयलाई तिरिसकेको छ ।
अब लगानी फिर्ता लैजान लगानी बोर्डले अन्तिम स्वीकृति दिनमात्र बाँकी छ । बोर्डले स्वीकृति दिएपछि अम्बुजाले नेपाल राष्ट्र बैंकबाट डलर सटही गरी आफ्नो लगानी भारत फिर्ता लैजान पाउने छ । अम्बुजा बाहिरिएपछि दाङ सिमेन्टमा चिनियाँ कम्पनी होङ्सी र नेपाली लगानीकर्ताको मात्र स्वामित्व हुनेछ ।
दाङ सिमेन्टमा चिनियाँ कम्पनी एसएचई इन्भेस्टमेन्टको ८५ प्रतिशत स्वामित्व हुनेछ । बाँकी नेपाली लगानीकर्ताको हुनेछ ।
अब दाङ सिमेन्टमा एसएचई इन्भेस्टमेन्टको २० लाख २९ हजार कित्ता तथा नेपाली व्यवसायीहरू विजय दुगडको ६२ हजार ७ सय ३०, सूर्यबहादुर केसी परिवारको ३३ हजार ७ सय ३० र कृष्णमुरारि अमात्यको ७९ हजार कित्ता स्वामित्व रहेको रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
दाङ सिमेन्टमा चीनकै हङकङ लायनको नेपालमा दोस्रो उद्योग हो । यसअघि नेपाली र चिनियाँ लगानीमा होङ्सी शिवम सिमेन्ट प्रालिबाट सिमेन्ट उत्पादन भइरहेको छ ।
होङ्सीमा हङकङ लायनको ७० र नेपालको शिवम सिमेन्टको ३० प्रतिशत स्वामित्व छ । हङकङ रेडलायनले स्थापना गरेको होङ्सी सिमेन्टको आफ्नै क्लिंकर उत्पादन गर्ने खानीसमेत रहेको छ जसको दैनिक उत्पादन क्षमता ६ हजार टन छ ।
लगानी बोर्डको ४४औं बैठकले दाङ सिमेन्टका लागि साढे ३२ अर्ब रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ ।
त्यस्तै बोर्डको ४७औं बैठकले सेयर किनबेच सम्झौतालाई पनि स्वीकृत गरेको थियो । उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुनेछ । उद्योग स्थापनाको काम प्रारम्भिक चरणमा छ । उद्योगमा ४० प्रतिशत स्वपुँजी (इक्विटी) र ६० प्रतिशत ऋण लगानी हुनेछ ।
सिमेन्टको कच्चा पदार्थ क्लिंकर उत्पादन गर्न उद्योगले खानी लिइसकेको छ । उद्योगले जग्गा खरिदका साथै खानी सञ्चालन अनुमति पनि पाइसकेको छ ।
त्यसैगरी उद्योग परिसरमा सडक र विद्युत प्रसारणलाइन पूर्वाधार पुगिसकेको छ । वातावरणीय प्रभाव मूल्यांकन (इआइए) समेत भइसकेको र थप इआइए हुन बाँकी रहेको बोर्डले जनाएको छ ।
रेडलायनको मुख्य लगानी रहेको होङ्सी शिवमले सिमेन्ट उत्पादन क्षमता दोब्बर बढाएर दैनिक १२ हजार टन पु¥याउने गरी पूर्वाधार विस्तारको काम गरिरहेको छ ।
एचएसई इन्भेस्टमेन्टले दाङ सिमेन्टमा १५ अर्ब रुपैयाँ लगानी ल्याउने बताइएको छ । हाल उद्योगका लागि ४० बिघा जग्गा खरिद भइसकेको छ । उद्योगको सिमेन्ट कारखाना दाङ बबई गाउँपालिका पुरनधारा र क्लिंकर उत्पादन खानी सल्यान त्रिवेणी र कालिमाटी गाउँपालिकामा छ ।
पहिला पोखराको केसी समूहले दाङमा सिमेन्ट उद्योग स्थापना तथा क्लिंकर उत्खननका लागि अनुमति लिएको थियो । तर, अनुमति लिएको डेढ दशकसम्म पनि उद्योग स्थापना हुन सकेको थिएन ।
केसी समूहका अध्यक्ष सूर्यबहादुर केसीले उद्योग खोल्न नसकेपछि उनले भारतीय कम्पनी अम्बुजा सिमेन्टलाई बहुमत सेयर बिक्री गरेका थिए ।
उद्योगले कूल ४० मेगावाट विद्युत खपत गर्ने अनुमान छ । उद्योगबाट निस्किने धुलोबाट १२ मेगावाट विद्युत उद्योगले नै उत्पादन गर्ने जनाइएको छ । खानीबाट उद्योगसम्म क्लिंकर ल्याउन करिब सात किलोमिटर लामो ‘कन्भेयर बेल्ट’ निर्माण गरिने छ ।
हाल ३० बिघा क्षेत्रफलमा फैलिएको उद्योग परिसरमा थप ३० बिघा जमिन थप्ने कम्पनीको योजना छ । यसको प्रक्रिया अघि बढिसकेको छ ।