काठमाडौं । पछिल्लो समय मुलुकमा रेलमार्ग निर्माणको विषय चर्चामा रहँदै आएको छ । तर, के चर्चा गरेजस्तै रेलमार्ग निर्माण गर्न सजिलो छ ? पक्कै छैन ।
रेलमार्ग निर्माण गर्न बृहत लगानी चाहिन्छ । सजिलो हिसाबमा बुझ्दा एक किलोमिटर रेलमार्ग बनाउन १ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ । रेल विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) एवं प्रवक्ता अमन चित्रकारका अनुसार एक किलोमिटर रेलमार्ग निर्माण गर्न १ अर्ब रुपैयाँ खर्च लाग्छ ।
‘जग्गाको मुआब्जा वितरणदेखि निर्माण सम्पन्न गरेर रेल गुडाउने अवस्थासम्म आइपुग्दा एक किलोमिटर रेलगमार्गको लागत १ अर्ब रुपैयाँ पुग्छ,’ चित्रकारले क्यापिटल नेपालसँग भने, ‘पूर्व–पश्चिम रेलमार्गको लम्बाइ १ हजार ४६ किलोमिटर छ ।’
सरसर्ती हिसाब गर्दा सरकारले पूर्व–पश्चिम रेलमार्ग निर्माण पूरा गर्न १० खर्ब ४६ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ । तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने समग्रमा १२ खर्ब लाग्ने जनाएको छ ।
निजगढ–हेटौंडा–भरतपुर खण्डको डिपिआर सुरु
यहीबीच पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ–हेटौंडा–भरतपुर खण्डमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम सुरु भएको छ । पूर्व–पश्चिम विद्युतिय रेलमार्गको डिपिआर तयारीको काम भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको रेल विभागले गर्दै आएको छ ।
नौ खण्डमा विभाजन गरेर विभागले डिपिआर तयार गर्ने योजना बनाए पनि चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जका कारण एक खण्डको अध्ययन भने अझै सकिएको छैन ।
विभागका प्रवक्ता चित्रकारका अनुसार हाल विभागले निकुञ्ज क्षेत्रलाई असर नहुने गरी रेलमार्गको डिपिआर अध्ययन गर्न थालेको छ । रेलमार्गको नक्सा नै परिवर्तन गरी निजगढ–हेटौंडा–भरतपुर खण्डमा अध्ययन सुरु भएको उनले बताए । उक्त खण्डमा १ सय ३५ किलोमिटर बढी लम्बाइ रहने अनुमान छ ।
यद्यपि, डिपिआर तयार भएपछि उक्त खण्डको यकिन लम्बाइ निस्किने चित्रकारले बताए । ‘राष्ट्रिय निकुञ्जलाई असर नगर्ने गरी निजगढ–हेटौंडा–भरतपुर खण्डमा डिपिआर तयारीको काम भइरहेको छ,’ उनले भने, ‘अहिलेको अनुमानअनुसार १ सय ३५ किलोमिटरभन्दा बढी लम्बाइ त्यही खण्डमा हुन्छ । तर, यो लम्बाइमा घटबढ हुनसक्छ ।’
उक्त खण्डमा अध्ययन भइरहे पनि कोरोना प्रभावको असरले अध्ययन सम्पन्न हुने मिति यकिन नभएको विभागले जनाएको छ । अन्य आठ खण्डको डिपिआर तयार भइसकेको विभागले जनाएको छ ।
पूर्व–पश्चिम रेलमार्गको कुल लम्बाइ यसअघि ९ सय ४६ किलोमिटर भनिएको थियो । तर, प्रवक्ता चित्रकार भने विद्युतीय रेलमार्गको कूल लम्बाइ १ हजार ४६ किलोमिटर रहेको बताउँछन् । ‘९ सय ४५ किलोमिटरमात्रै लम्बाइ होइन, सबै लिंक जोड्दा १ हजार ४६ किलोमिटर लामो रेलमार्ग बन्ने छ ।’
डिजेलवाला रेलमार्गलाई विद्युतीय बनाउन सकिने
हाल भारतको सहयोगमा नेपालमा डिजेलबाट रेल सञ्चालन भइरहेको छ । जयनगर–बर्दिबास रेलमार्ग ७० किलोमिटर भारतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको हो ।
जसमध्ये भारत जयनगरदेखि नेपालको कुर्थासम्म ३५ किलोमिटर दुरीमा २०७८ चैतदेखि रेल सञ्चालन भइरहेको छ । कुर्था–बिजलपुरा १७ किलोमिटर निर्माण कार्य अन्तिम चरणमा र बिजलपुरा बर्दिबास १८ किलोमिटर क्षेत्रमा मुआब्जा वितरण भइरहेको छ ।
भारतीय सहयोगमा निर्माणाधीन उक्त रेलमार्गमा डिजेल रेल कुद्ने भए पनि पूर्व–पश्चिम रेलमार्ग भने नेपालले आफ्नै लगानीमा विद्युतीय बनाउन लागेको हो । अन्तरसिमा निर्माण गरिएको डिजेलवाला रेलमार्गमा पूर्व–पश्चिम विद्युतीय रेलमार्गले छुने छ ।
यद्यपि, कुन स्थानमा कति छुन्छ भन्ने बारे विभागले प्रष्ट पारेको छैन । तर, डिजेलवाला रेलमार्गलाई विद्युतीय बनाउन सकिने विभागले जनाएको छ । ‘भारतले पनि डिजेलवालालाई विद्युतीय बनाएको हो, नेपालमा पनि त्यो मिल्छ,’ प्रवक्ता चित्रकारले भने ।