काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्वमा रहेको एनआइबिएल एस क्यापिटल लिमिटेडले विशिष्टीकृत लगानी कोष स्थापनाको अनुमति पाएको छ ।
साे क्यापिटलले विशिष्टीकृत लगानी कोष स्थापना नियमावली, २०७५ अन्तर्गत आइतबार धितोपत्र बोर्डमार्फत कोष व्यवस्थापकको अनुमति पाएको हो ।
साे क्यापिटलले नेपालको पुँजी बजारमा विशिष्टीकृत लगानी कोषअन्तर्गत विभिन्न कोषहरु सञ्चालन गर्ने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डबाट उक्त अनुमति प्राप्त गरेको हो ।
विशिष्टीकृत लगानी कोष नियमावलीे, २०७५ एवं निर्देशिका तथा प्रचलित नियम कानुनको अधिनमा रही कोष व्यवस्थापकले कोष दर्ताको प्रक्रिया अगाडि बढाउने रहेकोले बिक्रीमार्फत रकम संकलन गरी संकलित रकमलाई जोखिम न्यूनीकरणका उपायहरु अपनाई विभिन्न क्षेत्रका कम्पनीहरुका सेयर तथा अन्य वित्तीय उपकरणहरुमा लगानी गर्ने क्यापिटलले जनाएको छ ।
यसरी गरिएको लगानीबाट आर्जित मुनाफालाई इकाई धनीहरुलाई वार्षिक प्रतिफलको रुपमा वितरण गर्ने उद्देश्यसमेत राखेको क्यापिटलले जनाएको छ ।
यसरी स्थापना भएको कोषले विभिन्न कम्पनीको सेयरमा लगानी गर्ने हुँदा, विशेषा गरी साना तथा मझौला व्यवसायहरु तथा नवप्रवर्तनमा आधारित व्यवसायहरुलाई अत्यन्त लाभदायक हुने र समग्र नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न जाने कम्पनीको जनाएकाे छ ।
नव प्रवर्तनमा आधारित कम्पनी तथा व्यवसायीहरु नेपालको झन्झटिलो कर्जा प्रक्रिया, धितोको अपर्याप्तता तथा महँगो ब्याज आदि कारणले गर्दा आफ्नो व्यवसाय विस्तार गर्न नसकेको अवस्थामा यस अनुमतिले नेपालमा लगानीको नयाँ स्रोत स्थापित गरी उद्यमशीलताको प्रवर्द्धन हुने देखिएको कम्पनीले बताएको छ ।