भजनी । कैलालीको भजनी नगरपालिका–३ कि मञ्जु चौधरीको आजभोलिको दिनचर्या वर्षातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ ।
धान रोपाइँ गरिसके पछिको फुर्सदको समयलाई उनले माछा मारेर सदुपयोग गर्दै आएकी हुन् । मञ्जु मात्रै होइन उनको चार जनाको परिवारको दिनचर्या नै माछा मार्दै बित्ने गरेको छ । दिनभर माछा, गंगटो र घोंगीको खोजीमा हुने उनको परिवारले त्यहाँबाट राम्रो आम्दानीसमेत गर्दै आएको छ ।
“पहिला आफ्नै लागि भनेर माछाको खोजीमा कुला तथा नहरमा पुग्छौं । धेरै भएपछि बिक्री पनि गर्छौं ।” उनले भनिन्, “सिजनमा राम्रो भयो भने १० हजार रूपैयाँभन्दा बढीका झिंगा माछा र घोंगी बिक्री गर्छौं ।” उनले विद्यालय बिदा भएको दिनमा छोराछोरीहरुको दैनिकी पनि खोला किनारमै बित्ने गरेको बताइन्।
वर्षातको समयमा थारु बस्तीमा सिँचाइ कुलोमा समेत अधिकांश ठाउँमा माछा मार्ने जाल हालेको देख्न पाइन्छ । त्यसैमा वर्षाको फुर्सदको समयमा थारु महिला दिउँसोको खानासमेत लिएर माछाको खोजिमा जाने थारु महिलाका लागि एक परम्पराजस्तै बनिसकेको छ ।
दिनभर माछा मार्ने र साझ त्यहीँ माछा तरकारीको रुपमा थारु समुदायले प्रयोग गर्दै आएका छन् । बढी भएको झिङ्गे माछा सुकाएर राम्रो मूल्यमा बिक्रीसमेत हुँदै आएको सुवर्ण चौधरी बताइन्। केही हिउँदको महिनाको लागि समेत जोहो गर्दै आएका छन् ।
वर्षातको समयमा मारेका झिङ्गे माछा सुकाएर हिउँदमा समेत खाने गरेको भजनी नगरपालिका- ६ की कृष्णी थारुले बताइन्। “थोरै भए आफैंलाई ठिक्क हुन्छ । बढी भए बिक्री गर्छौं । बिक्री भएन भने सुकाएर राख्छौँ ।” उनले भनिन्, “हामीले मारेको माछा खेर जाँदैन । घरका प्रायः सबै जना दिनभर माछा मार्न भनेर हिँडेका हुन्छौं ।” घरका पाँच जना सदस्यले अलिअलि गरे पनि एकदुई केजी झिङ्गे माछा साँझको समयमा संकलन हुने गरेको उनले बताइन् ।
वर्षातको समयमा थारु महिला मात्रै नभएर पुरुष पनि माछा मार्ने जाल लिएर खोला तथा पोखरीमा व्यस्त हुने गरेको देख्न सकिन्छ । “खासमा धान खेती तयार नहुँदासम्म काम केही हुँदैन । त्यो समयको सदुपयोग गरेका हौं ।” सुवर्णले भने, “खाली बस्नुभन्दा केही न केही काम गर्नुपर्छ भन्ने मानसिकता हाम्रो हुन्छ । त्यही भएर पनि बर्सातको समयमा माछा मारेर बित्छ ।” माछा मार्नका लागि महिलाले हेल्काको प्रयोग गर्नुहुन्छ भने पुरुषले जालको । ठूला माछाभन्दा पनि झिङ्गे माछाको खोजिमा थारु महिला व्यस्त रहने गरेको भजनी–६ कि बिन्द्रा चौधरी बताइन्।
“लामो समयदेखि खाल्डाखुल्डीमा पानी जमेको भए हेल्का हाल्यो भने झिङ्गे माछा आइहाल्छन् । त्यस्तै परेको दिनमा एक केजीभन्दा बढी झिङ्गे माछा पनि भेटाउन सकिन्छ । त्यसैअनुसार घोंगी पनि ।” उनले भनिन्, “त्योभन्दा रमाइलो भनेको साथीहरूसँगै हुने रमाइला कुराहरू दिन बितेको थाहै हुँदैन ।” महिला समूहमा माछाको खोजिमा जाने गर्छन् । समूहमा गएका महिला काम भने सामूहिक गर्दैनन् ।
पानी जमेको खाल्डाखुल्डीमा होस् वा अन्य कुनै कुला नहरमा माछा मार्नको लागि जाँदा जोखिम पनि उत्तिकै छ । फोहोर पानीमा दिनभर रहँदा त्यसबाट छालासम्बन्धी रोगको जोखिम छ भने किरा फट्याङ्ग्राको जोखिम उत्तिकै छ । पहिलेदेखि नै यस्तै अवस्थामा हुर्केका कारण होला कुनै डर त्रास नलाग्ने गरेको भोजराज चौधरी बताए। “डर हुन्छ तर पनि साथीहरूसँगै हुँदा त्यस्तो कुनै महसुस नै हुँदैन ।” उन भने, “घरका लागि तरकारी, बजार बिक्री गरेपछि पैसा आउने भएपछि अलिकति जोखिम त मोल्नु पनि पर्छ ।”
बजारमा अहिले घोंही प्रतिकेजी १ सयमा रुपैयाँ बिक्री हुने गरेको छ । झिङ्गे माछा प्रतिकेजी रु पाँच सयमा बिक्री हुन्छ । टीकापुर –८ मा रहेको जितु कटेजका सञ्चालक जितबहादुर चौधरीले होटलमा माछा बिक्री गर्न महिला आफैँ आउने गरेको बताए।
उनले महिलाले माछा मार्ने कामलाई रोजगारीको रुपमा लिएको बताए। “खेतीपातीको काम सकिएपछि हिउँदको समयमा मजदुरी गर्ने महिला वर्षातको समयमा माछा मार्न व्यस्त हुन्छन् ।” उनले भने, “वर्षातको समयमा मजदुरीको काम नपाइने भएकाले पनि थारु समुदायका लागि माछा मार्न काम आकर्षणमा परेको हो ।” थारु महिलाका लागि यो क्रम कात्तिक महिनासम्म चल्ने जनाइएको छ ।