काठमाडौं । चिलिमे जलविद्युत आयोजनापछि ‘क्यु ५३’ मा बझाङमा तल्लो सुनिगाड जलविद्युत आयोजना निर्माण भइरहेको छ ।
क्यु ५३ मा निर्माण भएको यो दोस्रो जलविद्युत आयोजना हो ।
हाल सञ्चालित सबै आयोजना क्यु ४० मा निर्माण भएका हुन् भने निर्माणाधीन आयोजना पनि अधिकांश यस्तै खालका छन् । जसका कारण बर्खायाममा धेरै बिजुली उत्पादन हुने र सुक्खायाममा कम विद्युत उत्पादन हुने गरेको छ ।
ओमेगा इनर्जी डेभलपर प्रालिले बझाङमा निर्माण गरिरहेको ११ मेगावाट क्षमतायुक्त सुनिगाड आयोजनाले सुक्खायाममा साढे ७ मेगावाटसम्म विद्युत उत्पादन गर्छ । क्यू ५३ मा डिजाइन भएकाले आयोजनाले वर्षभरीको ५३ प्रतिशत दिन पूर्ण क्षमतामा सञ्चालन हुन्छ ।
यसले विद्युत प्राधिकरणलाई सुक्खायाममा विद्युत सञ्चालन गर्न सहयोगी भूमिका खेल्ने सञ्चालक प्रभुराम श्रेष्ठले बताए । आयोजना निर्माण भीडमा केही पृथक गर्ने र मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्ने खालका काम गर्नुपर्छ भन्ने सोचमा क्यु ५३ मा निर्माण गरिरहेको उनले जानकारी दिए ।
‘हामीले व्यवसायमा नाफामात्र होइन, सेवा पनि हेरेका छौं,’ श्रेष्ठले भने, ‘२०८१ जेठ मा उत्पादन थाल्ने आयोजनाले सुक्खायाममा विद्युत प्राधिकरणले भोग्ने समस्या केही हदसम्म समाधान हुन्छ ।’
हाल विद्युत प्राधिकरणले सुक्खायाममा भारतबाट बिजुली आयात गर्दै आएको छ । वर्खामा हुने पानीको अधिकतम उपयोग गरेर भारत निकासी गर्न नेपाल विद्यूत प्राधिकरणले क्यूको सीमा घटाएर २५ पुर्याउने तयारी थालेको छ । वर्खामा भारतमा बिजुलीको बढी माग हुने भएकाले क्यूको सीमा घटाउन लागिएको हो ।
साढे २ अर्ब लागतमा निर्माण भइरहेको उक्त आयोजना बझाङ चैनपुरबाट पाँच किलोमिटर टाढा पावर हाउस निर्माण भइरहेको छ । दुई वर्षअघि निर्माण सुरु गरे पनि कोभिडका कारण आयोजना निर्माणमा ढिलाइ भएको थियो ।
आयोजनामा आठजना लगानीकर्ता र केही कम्पनीको सामूहिक लगानी छ । अहिले आवश्यक पूर्वाधार निर्माण, पाइपलाइनको काम भइरहेको छ । आयोजनाको भौतिक पूर्वधार निर्माण भने कुमार श्रेष्ठ निर्माण सेवा कम्पनीले गरिरहेको छ । आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर छुट्ट्याएको छ ।
हालसम्म आयोजनाले बैंक ऋणसमेत नलिएको दाबी गरेको छ । ‘सम्भवतः यो नै पहिलो प्रोजेक्ट हुन सक्छ जसले निर्माणको काम आधा भइसक्दा समेत बैंक ऋण लिएका छैनन्,’ सञ्चालक श्रेष्ठले भने, ‘संस्थापकहरूले लगानी गरिसकेपछि बैंक ऋण लिने र त्यो पनि सकिएपछि मात्र आइपिओ जारी गर्ने कम्पनीको योजनाअनुसार काम भइरहेको छ ।’
आयोजनाका अनुसार १३ किलोमिटर बाटो र पाइपलाइनको काम पूरा भएको छ । अगामी मंसिरपछि भने टनेल निर्माण् सुरु हुनेछ । आयोजनाको टनेल डेढ किलोमिटर लामो र पाइपलाइन आठ किलोमिटर हुनेछ ।
साढे ५ अर्ब लगानीमा माथिल्लो सुनिगाड पनि बन्दै
सोही कम्पनीले सुनिगाड खोलाकै माथिल्लो भेगमा अर्को आयोजना पनि निर्माण गर्ने भएको छ । १३ मेगावाट क्षमताको माथिल्लो सुनिगाड आयोजनाको आगामी असोजभित्रै विद्युत खरिद सम्झौता (पिपिए) गरिसक्ने तयारी छ ।
पिपिए सकिए लगत्तै निर्माण अगाडि बढाउने र दुई वर्षभित्र निर्माण पूरा गरी विद्युत उत्पादन गर्ने योजना रहेको सञ्चालक श्रेष्ठले बताए । आयोजनामा साढे ५ अर्ब लगानी हुने अनुमान छ ।