काठमाडौं । नेपालीहरुको महान् चाड दसैं र तिहार नजिकिएसँगै व्यवसायीहरुलाई पनि नयाँ सामान ल्याउने चटारो बढेको छ । तर, लामो समयदेखि चिनियाँ नाका केरुङ र तातोपानी बन्द हुँदा व्यवसायीहरू मर्कामा परेका छन् ।
नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले चिनियाँ नाका खुलाउनका लागि सरकार गम्भिर भएर नलागेको आरोप लगाएका छन् । कोभिडपछिको आर्थिक मन्दीका कारण मारमा परेका व्यवसायीहरूले दसैं तिहारलाई लक्षित गरेर चीनबाट ल्याएको सयौं सामानहरू थन्किदासमेत सरकारले कुटनीतिक पहल नगरेको उनको भनाइ छ ।
’कुटनीतिक पहलमार्फत नाका सञ्चालन गरेर व्यवसायीहरूको सामान छुटाउनका लागि सरकारले कुनै वार्ता नै सुरु गरेका छैनन्, निमित्त अध्यक्ष अधिकारीले भने, यसबाट पनि पुष्टी हुन्छ की सरकार व्यवसायीको पक्षमा कति गम्भिर छन् भन्ने ?’
अर्थमन्त्री जनार्दन शर्मा (प्रभावकर) ले भने बन्द रहेको चिनियाँ नाका खुलाउनका लागि दुई देशबीच उच्च स्तरमा वार्ता र छलफल भइरहेको बताए । ’व्यवसायीको समस्या समधानका लागि सरकार तयार छ, अर्थमन्त्री शर्माले भने, त्यसका लागि कुटनीतिक नियोगमार्फत छलफल भइरहेको छ।‘
तिब्बत क्षेत्रमा कोभिडको संक्रमण देखिएकोले स्वास्थ्यकै कारणले नाका बन्द गरिएको भन्ने खबर आफूले पनि पाएकाले सुरक्षित तवरले नेपाल प्रवेशका लागि उपायहरू अपनाउने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए । नेपालले मात्र चाहेर तत्कालै नाका नखुल्ने भएकाले परराष्ट्र मन्त्रालयमार्फत दुई देशका अधिकारीहरुबीच कुरा भइरहेको उनको भनाइ छ ।
अहिले दुवै नाका अघोषित रुपमा बन्द छ । खासगरी लामो तातोपानी नाका विभिन्न कारणले बन्द भएपछि नियमित रुपमा सञ्चालनमा रहेको केरुङ नाका पनि केही साता अघिदेखि बन्द भएपछि व्यवसायीहरू थप मर्कामा परेका हुन् । जसको कारण चीनबाट नेपालका लागि छुटेको ६ सय भन्दा बढी कन्टेनरहरू बीच बाटोमै अलपत्र परेको छ ।
केरुङ नाकामा ६ सय वटा भन्दा बढी कन्टेनरहरू रोकिएका छन् । दसैं र तिहारलाई लक्षित गरेर व्यवसायीहरूले चीनबाट ठूलो मात्रामा वर्षेनी सामानहरू ल्याउने गरेका छन् । चीनमै लामो समयसम्म सामानहरू थन्किएपछि यो वर्षको दसैं र तिहारका लागि आवश्यक सामानहरू महंगो हुने र अभाव हुने भएकाले तत्कालै नाका सञ्चालन गरी सहजीकरण गर्नुपर्ने व्यवसायी नविन राईको भनाइ छ । भारतीय भन्दा चिनियाँ सामान सस्तो हुने भएकाले पनि चाडबाडको क्रममा धेरैले मनपराउने गरेका छन् ।