काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानी कोष व्यवस्थापकको रुपमा काम गर्न ८ कम्पनीलाई अनुमति दिएको छ ।
बोर्डले ग्लोबल इक्वीटी फण्ड लिमिटेड, अवसर इक्वीटी लिमिटेड, एनआइसी एसिया क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड, एनआइविएल एस क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड, प्रभु क्यापिटल लिमिटेड र नबिल इनभेष्टमेन्ट बैंकिङ लिमिटेडलाई अनुमति दिएको हो ।
बोर्डले यी ८ संस्थालाई विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमतिपत्र दिएसँगै धितोपत्र व्यवसायी मर्चेन्ट बैंकरको कार्य क्षेत्रसमेत विस्तार भएको छ ।
बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थाले बैंक तथा वित्तीय संस्थाको पहुँच नभएका क्षेत्रमा रहेर नवप्रवर्तक ‘स्टार्टअप’ कम्पनीमा लगानी गर्नेछन् । भेन्चर क्यापिटलले जोखिम ‘रिस्क’ बहन क्षमता राख्दछन् ।
साथै नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु सेवा प्रविधि या बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायलाई व्यवसाय सञ्चालन गर्न पुँजी जुटाउदिने काम गर्नेछन् ।
तरलता समस्या भएको अवस्थामा यी कम्पनीले उद्यमीहरूलाई पैसा जुटाउने वातावरण बन्ने जानकार बताउँछन् ।
नयाँ व्यवसायहरु शुरुवात गर्न स्वदेशी तथा वैदेशिक लगानीका भेञ्चर क्यापिटल प्राइभेट इक्वीटी फन्ड, फन्डमार्फत अर्थतन्त्रमा लगानीको नयाँ स्रोतको व्यवस्था गर्न सहयोग पुग्ने गरी लागू भएको विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था अनुरूप बोर्डने विशिष्टीकृत लगानी कोषको स्थापना तथा संचालन गर्ने कार्यका लागि अनुमति प्रदान गरेको बोर्डले जनाएको छ ।
यी संस्थाले यसअघि धितोपत्र व्यवसायी मर्चेण्ट बैंकरको कार्य गरिरहेका थिए ।