काठमाडौं । नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न तयार पारिएको नियमावली मन्त्रिपरिषद कानुन समितिले ‘पास’ गरेको छ । नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४’ संशोधन मन्त्रिपरिषद कानुन समितिले पास गरेको हो ।
बोर्ड सञ्चालक समितिले पारित गरी अर्थ मन्त्रालय पठाएको नियमावली डेढ महिनापछि कानुन समितिले पास गरको हो । कानुन समितिले यसमा चुक्ता पुँजी अनुमोदन गरेको छ । नियमावलीमा ब्रोकर छनोट गर्न मुख्य पाँच मापदण्ड तय गरिएका छन् ।
कानुन समितिले पास गरेको उक्त नियमावली भदौ २० (सोमबार) बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गर्न उच्च स्रोतको भनाइ छ ।
‘नयाँ ब्रोकर लाइसेन्स वितरण गर्न तयार नियमावली मन्त्रिपरिषद कानुन समितिले पास गरेको छ,’ स्रोतले क्यापिटल नेपालसँग भन्यो, ‘कानुन समितिले पास गरेको नियमावली भोलि मन्त्रिपरिषदले अनुमोदन गर्ने छ ।’बोर्डले पठाएको प्रस्तावमा कानुन समितिले चुक्ता पुँजी परिमार्जन गरेको छ ।
नियमावलीमा हरेक वर्ष नयाँ ब्रोकर लाइसेन्स वितरण गर्ने, कार्यक्षेत्रका आधारमा पुँजी वृद्धिदेखि बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गर्नेसम्मका व्यवस्था समेटिएका छन् ।
बोर्ड सञ्चालक समितिले संशोधन गरी पठाएको नियमावलीमा सीमित कार्य गर्ने ब्रोकरलाई न्यूनतम चुक्ता पुँजी २० करोड रुपैयाँ र पूर्णकार्य गर्ने ब्रोकरलाई न्यूनतम ६० करोड र स्टक डिलरका लागि चुक्ता पुँजी १ अर्ब ५० करोड प्रस्ताव गरिएको थियो । तर, कानुन समितिले उक्त चुक्ता पुँजी परिमार्जन गरी नियमावली पास गरेको हो ।
कानुन समितिले पास गरेको नियमावलीअनुसार सीमित कार्य गर्ने ब्रोकरलाई न्यूनतम चुक्ता पुँजी १५ करोड र पूर्णकार्य गर्ने ब्रोकरलाई न्यूनतम ५० करोड र स्टक डिलरका लागि १ अर्ब रुपैयाँ कायम गर्नुपर्ने व्यवस्था छ ।
नयाँ ब्रोकरले लाइसेन्स लिनुअघि नै र पुराना ब्रोकरले पनि नियमावली लागू भएको दुई वर्षभित्र तोकिएको चुक्ता पुँजी पु¥याउनुपर्ने छ ।
मन्त्रिपरिषदबाट स्वीकृत भएपछि मापदण्ड पु¥याउने जो कोहीले ब्रोकर लाइसेन्स पाउनेछन् ।
जसअनुसार पुँजी, अनुमति प्रदानसम्बन्धी दस्तुर, सञ्चालक योग्यता, संस्था प्रमुखका योग्यता र सूचना प्रविधि पर्छन् । यी मापदण्डका आधारमा ब्रोकर छनोट गरी लाइसेन्स वितरण गरिने प्रस्तावमा छ ।
सम्बन्धित क्षेत्रमा तोकिएको पाठ्यक्रम आधारमा लिखित परीक्षा लिई ब्रोकर लाइसेन्स वितरण गरिने पुरानो व्यवस्था हटाइ तोकिएको मापदण्ड पूरा गर्ने जो कोहीले ब्रोकर लाइसेन्स लिन पाउने व्यवस्था गरिएको छ ।