टीकापुर । कैलालीको टीकापुर उद्योग वाणिज्य संघको अध्यक्षमा चक्रपाणि सापकोटा विजयी भएका छन् । सापकोटा ५ सय ६५ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी तपेन्द्र स्वाँरले ३ सय ९५ र राजेन्द्र शाहले एक सय २५ मत प्राप्त गरे ।
यसैगरी उपाध्यक्ष (उद्योगतर्फ) मा सन्तोष खड्का, उपाध्यक्ष (वाणिज्यतर्फ) मा कृष्ण उपाध्याय बजगाईँ, महासचिवमा नवराज रिमाल, सचिवमा तपेन्द्र कुँवर र कोषाध्यक्षमा लोकेश साउद विजयी भएका छन् ।
निर्वाचन अधिकृत रघुनाथ उपाध्यायका अनुसार निर्वाचनमा एक हजार ३८ मत खसेको थियो । संघका ६ पदाधिकारीमध्ये अध्यक्ष, वाणिज्यतर्फको उपाध्यक्ष र सचिवमा सापकोटा प्यानलका उम्मेदवार तथा उद्योगतर्फका उपाध्यक्ष, महासचिव र कोषाध्यक्षमा स्वाँर प्यानलका उम्मेदवार विजयी भएका छन् ।
यसैगरी सदस्यहरुमा सापकोटा प्यानलका सात र स्वाँर प्यानलका एक जना विजयी भएका छन् । सदस्यमा प्रकाश उपाध्याय तिमिल्सिना, पृथ्वीराज ढुङ्गाना, दुर्गा साहू, बमबहादुर वली, हेमन्त रावल र लालबहादुर चौधरी विजयी भएका छन् ।
महिला आरक्षित सदस्यमा स्वाँर प्यानलकी टीका शाही विजयी भएका छन् । जनजातितर्फ जितबहादुर चौधरी र दलिततर्फ माया बागदास यसअघि निर्विरोध भइसकेका छन् ।