काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) को आम्दानी बढेर झन्डै ११ अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष ०७७\०७८ मा ५० ब्रोकर कम्पनीले १० अर्ब ६९ करोड ३ लाख रुपैयाँ खुद आम्दानी गरेका छन् । सोही वर्ष ब्रोकर कम्पनीले २ अर्ब ९९ करोड रुपैयाँ खर्च गरेका थिए ।
सो खर्च कटाएर ब्रोकर कम्पनीहरुले ७ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ खुद आम्दानी भएको देखाएका छन् । सञ्चालनमा रहेका ५० मध्ये ५ वटा ब्रोकरको आम्दानी उच्च रहेको छ ।
पाँच कम्पनीको खुद आम्दानी क्रमशः ९१.८०, ९१.६०, ८८.३० र ८५.३० प्रतिशत रहेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । धितोपत्र व्यवसायीको कुल आयको तुलनामा खुद औसत आम्दानी ७०.७८ प्रतिशत रहेको महालेखा परीक्षकले जनाएको छ ।
वार्षिक रुपमा ब्रोकरको नाफा औसतमा १५ करोड रुपैयाँ रहेकोे महालेखा परीक्षकको कार्यालयलको प्रतिवेदनले देखाएको छ । ब्रोकर कम्पनीहरुले औसतमा ७० प्रतिशत माथि नाफा गर्नु स्वाभाविक रहेको नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की बताउँछन् ।
‘ब्रोकर शुल्कमा सामूहिक प्रतिस्पर्धा नै छैन,’ उनले क्यापिटल नेपालसँग भने, ‘ब्रोकरहरुको संख्या नै कम छ । संख्या बढाउन उनीहरु चाहदैनन् । संख्या नबढाएपछि नाफा त धेरै हुने नै भयो ।’
अहिलेको ब्रोकरको नाफालाई हेर्दा थप ब्रोकर कम्पनी चाहिने कुरा प्रष्ट भएको कार्कीको भनाइ छ । ‘अहिले कारोबार र लगानीकर्ताको संख्या बढ्दै गइरहेको छ,’ उनले भने, ‘ब्रोकर संख्या कम हुँदा आपूर्ति कम भयो तर माग धेरै भयो ब्रोकरको संख्या थप्नुपर्छ ।’
कारोबार बढ्दै गइरहेको अवस्थामा ब्रोकरको संख्या बढाउनुपर्ने कार्कीको भनाइ छ । ‘२०६४ सालमा जम्मा २३ ब्रोकर कम्पनी थिए,’ उनले भने, ‘पछि २७ ब्रोकरलाई लाइसेन्स दिएर संख्या ५० पुर्याइएको थियो । पछिल्लो अवस्थाले ब्रोकर कम भएको देखिन्छ ।’
कारोबार संख्या र लगानीकर्ताको उल्लेख्य सहभागितालाई मध्यनजर गर्दै कमिसन घटाउनुपर्ने कार्कीको बताए । एक समयमा नोक्सानी रहेका ब्रोकर कम्पनीले औसतमा ७१ प्रतिशत नाफा गरिराख्दा कमिसन पुनरावलोकन गर्न आवश्यक देखिएको नेपाल धितोपत्र बोर्डका एक अधिकारीले बताए ।
‘एक समयमा ब्रोकर कम्पनी नोक्सानीमा थिए,’ ती अधिकारीले भने, ‘त्यसपछि कमिसन रिभ्यू भयो । अहिले ब्रोकरहरुले औसतमा ७१ प्रतिशत नाफा गर्ने अवस्थामा पुग्दा अब कमिसन रिभ्यू गर्नुपर्छ भन्ने देखिन्छ ।’
उनले बजारमा लगानीकर्ता सहभागिता बढ्दै गइसकेपछि ब्रोकर कमिसन धितोपत्र बोर्ड, सिडिएसई, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पनि कमिसन पुनरावलोकन गर्नुपर्ने बताए ।
व्यावसायिक लागत (कष्ट अफ डुङग बिजनेस) जति कम गर्दै गयो त्यति नै कारोबार बढ्दै जान्छ भन्ने अवधारण हुँदा ब्रोकर कमिसन परिमार्जन गर्नुपर्ने आवश्यक रहेको ती अधिकारी बताउँछन् ।
साथै सरकारले संरक्षण दिएर कोटा सिस्टमा रहेर काम गरिरहेका ब्रोकरले धेरै नाफा गरेको उनको भनाइ छ ।