काठमाडौं । सरकारले यसपालि दसैंमा काठमाडौं उपत्यकाका लागि ३८ हजार हाराहारीमा खसीबोका ल्याउने भएको छ । यो गत वर्षजतिकै संख्या हो । पशु सेवा विभागका महानिर्देशक सम्झनाकुमारी काफ्ले पाण्डेका अनुसार काठमाडौं भित्रिने खसीबोका तथा च्याङ्ग्राको यकिन तथ्यांक तयार नभए पनि गत वर्षकै हाराहारीमा ल्याउने तयारी छ ।
विभागले भदौ २१ गते मंगलबार खसीबोका तथा च्याङ्ग्रा ल्याउने विषयमा छलफल गर्न बैठक बोलाएको छ । उक्त बैठकले यसपालि दसैंमा काठमाडौंलाई आवश्यक पर्ने पशु माग र संख्या यकिन गर्ने छ ।
‘अहिलेसम्म आधिकारिक तथ्यांक आएको छैन । २१ गते पशुसँग सम्बन्धित सबै पक्षलाई राखेर बैठक बस्ने तयारी,’ महानिर्देशक पाण्डेले क्यापिटल नेपालसँग भनिन्, ‘तर, आयात भने गत वर्षकै हाराहरीमा हुने सम्भावना छ ।’
हाल काठमाडौं उपत्यकामा खसीबोकाको दैनिक माग १ हजार छ । यद्यपि, दसैं–तिहार जस्ता चाडबाडमा माग उच्च हुने गर्छ ।
गत वर्ष काठमाडौं उपत्यकामा प्रदेश १ बाट ११ हजार, मधेस प्रदेश ६ हजार, बागमती प्रदेश १७ हजार ५ सय, गण्डकी प्रदेश २ हजार ५ सय, लुम्बिनी प्रदेश ७ हजार ५ सय, कर्णाली प्रदेश ७ हजार र सुदूरपश्चिम प्रदेशबाट ९ हजार खसीबोका भित्रिएका थिए ।
यो वर्ष पनि सातै प्रदेशबाट खसी, बोका तथा च्याङ्ग्रा ल्याइने छ ।
३ हजार खसीबोका खाद्य कम्पनीले ल्याउने
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष ३ हजार खसीबोका तथा च्याङ्ग्रा ल्याउने भएको छ । गत वर्ष २ हजार खसीबोका ल्याएको खाद्यले यो वर्ष भने २ हजार खसीबोका र १ हजार च्याङ्ग्रा काठमाडौं ल्याउने तयारी गरेको छ ।
कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार कम्पनीले स्वदेशी खसीबोका मात्रै ल्याउने छ । पशु सेवा विभागले पनि स्वदेशी पशुचौपायाले दसैं–तिहारको माग धान्ने जनाएको छ।
विभागका महानिर्देशक पाण्डेका अनुसार विदेशबाट खसीबोका आयात गर्ने पक्षमा मन्त्रालय र विभाग छैनन् । गत वर्ष दसैं नजिकिएसँगै च्याङ्ग्रा ल्याउने जनाएको कम्पनीले अन्ततः च्याङ्ग्रा आयात गर्न सकेको थिएन । २०७७ दसैंमा पनि कम्पनीले च्याङ्ग्रा ल्याएको थिएन ।
लगातार च्याङ्ग्रा आयात हुन नसक्नुका पछाडि कोरोना महामारीको असर रहेको कम्पनीले जनाएको छ । कोरोना संक्रमणका कारण चीनबाट च्याङ्ग्रा आयात नहुँदा स्वदेशी च्याङ्ग्रा महँगो हुने गरेको छ ।
विशेषगरी मनाङ र मुस्ताङमा उत्पादन हुने च्याङ्ग्रा जडीबुटी खाएर हुर्कने भएकाले मूल्य बढी हुँदा कम्पनीले ल्याउन सकिरहेको छैन । यो वर्ष पनि किसानले मनाङ र मुस्ताङका च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार ६ सय रुपैयाँ तोकेका छन् ।
उक्त मूल्यमा काठमाडौंसम्म च्याङ्ग्रा ल्याएर बेच्न सहज नहुने कम्पनीका एक अधिकारी बताउँछन् । जसका कारण यो वर्ष पनि कम्पनीले च्याङ्ग्रा काठमाडौं ल्याउने सम्भावना न्यून छ ।
‘सुपथ मूल्यमा बिक्री गर्ने भनेर हामीले ल्याएर फेरि बढी मूल्य लिँदा राम्रो हुँदैन,’ सूचना अधिकारी सुवेदीले भनिन्, ‘सकेसम्म सस्तोमा मिल्यो भने ल्याउने योजना हो, धेरै महँगो पर्ने भयो भने ल्याउने सम्भावना कम छ ।’
कम्पनीले गत वर्ष जसरी नै काठमाडौं थापाथलीबाट मात्रै खसीबोका बिक्री गर्ने छ । उक्त कारोबार भने घटस्थापना नजिकिएसँगै सुरु हुने उनले बताइन् ।