एजेन्सी । संसारकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको अमेरिकामा पनि बजेट घाटा छ । सन् २०२१ मा अमेरिकाको बजेट घाटा २७ खर्ब डलर थियो । गत वर्ष अमेरिकाको संघीय खर्च ६८ खर्ब डलर पुग्यो । यस अवधिमा अमेरिकाले ४० खर्ब डलर राजस्व संकलन गरेको छ । राजस्व र खर्च अन्तर २७ खर्ब डलर छ ।
अमेरिकी बजेट घाटा उच्च हुँदै गइरहेको छ । सन् २०२० मा बजेट घाटा बढेर सर्वाधिक उचाइमा पुगेको थियो । त्यसबेला बजेट घाटा बढेर ३१ खर्ब डलर पुगेको थियो । अघिल्लो वर्षको दाँजोमा गत वर्ष बजेट घाटा ५ खर्ब डलर कम छ ।
कोरोना महामारीका कारण आम्दानी घटेको र खर्च बढेका कारण संघीय बजेट घाटा बढेको हो ।
कूल राजस्वमध्ये आधा योगदान व्यक्तिगत आयकरको छ । त्यस्तै ३० प्रतिशत योगदान सामाजिक सुरक्षा र मेडिकेयर करको छ । व्यक्तिगत आयकर हिस्सा २० खर्ब ४४ अर्ब डलरबराबर छ ।
२०२१ मा उक्त शीर्षकमा १२ खर्ब ४७ अर्बबराबर कर असुली भएको छ । कर्पोरेट कर ३ खर्ब ७२ अर्ब डलर छ । त्यस्तै भन्सार राजस्व ८० अर्ब र अन्तःशुल्क ७५ अर्ब डलर संकलन भएको छ ।
अमेरिकाको सबैभन्दा बढी खर्च ‘इन्कम सेक्युरिटी’ मा हुने गरेको छ । २०२१ मा उक्त शीर्षकमा १६ खर्ब ४९ अर्ब डलर खर्च भएको थियो । त्यसैगरी सामाजिक सुरक्षामा ११ खर्ब ३५ अर्ब, स्वास्थ्य ७ खर्ब ९७ अर्ब, राष्ट्रिय सुरक्षामा ७ खर्ब ५५ अर्ब र शिक्षामा २ खर्ब ९७ अर्ब डलर खर्च गरेको थियो ।
चालु २०२२ मा खर्च घटेर बजेट घाटा पनि कम हुने अनुमान अमेरिकाको छ । चालु वर्ष बजेट घाटा १५ खर्ब ५० अर्ब डलरमा झर्ने अनुमान उसको छ । आगामी तीन वर्ष बजेट घाटा क्रमशः कम हुने देखिएको छ ।
त्यसैगरी अमेरिकाको ऋण बढेर २ सय ८० खर्ब डलर पुगेको छ । यो वर्ष ब्याजदर पुनः बढेसँगै विद्यमान राष्ट्रिय ऋण सेवा महँगो बन्दै गएको छ ।