काठमाडौं । रसुवा नाका बन्द भएको महिना दिन हुन लाग्यो । यसबीच परराष्ट्रमन्त्री नारायण खड्का चीन भ्रमणसमेत गरेर फर्किए ।
भ्रमण क्रममा उनले नेपालसँग जोडिएका रसुवागढी र तातोपानी नाका खुलाइदिन अनुरोध गरे । तर, उनको अनुरोधले काम गरेन । यसको अर्थ, उनको भ्रमणले चीनर्फका दुई नाका रसुवागढी र तातोपानी नाका खुलाउन सकने ।
बेला–बेला अघोषित नाका बन्द गराउँदै आएको चीनले हाल तिब्बत क्षेत्रमा कोभिड संक्रमित भेटिएको भन्दै गत साउन दोस्रो सातादेखि नेपालतर्फको पूरु नाका बन्द गराएको छ ।
नाका किन बन्द भयो र कहिलेबाट खुल्छ भनेर चीनले आलसम्म औपचारिक जवाफ दिएको छैन । तर, तिब्बत क्षेत्रमा फाट्टफुट्ट कोभिड संक्रमित बढेको बाहानामा नाका बन्द गराएको व्यवसायीको भनाइ छ ।
जसका कारण सामान बोकेर नेपालका लागि छुटेका लगभग ६ सयथान कन्टेनर चिनियाँ भूभागमै थन्किएको व्यवसायी निरज राईले जानकारी दिए । विशेषगरी दसैं र तिहार लक्ष्य गरी चीनबाट ल्याइएका रेडिमेड लत्ताकपडा, जुत्ता, चप्पल र विभिन्न सामग्री बोकेका कन्टेनर उतै अलपत्र परेको उनको गुनासो छ ।
बाटोमा अलपत्र कन्टेनरलाई नाका नखोलेसम्म वैकल्पिक ढंगबाट ल्याउन सक्ने अवस्था नहुँदा व्यवसायीका करौडौं लगानी फस्ने अवस्था आएको राईको दुःखेसो छ ।
सबैभन्दा बढी व्यापार हुने सिजन दसैं र तिहार भएकाले यही बेला अनेक बहानामा नाका बन्द हुँदा समस्या उब्जिएको उनको भनाइ छ । सरकारले तत्कालै कुटनीतिक पहल गरेर रोकिएका कन्टेनर नेपाल ल्याउने वातावरण मिलाउनुपर्ने उनको माग छ । आयात रोकिनु अघिसम्म नाकाबाट प्रतिदिन अधिकतम १४ कन्टेनर सामान आयात भइरहेको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले ६ दिनअघि नै चिनियाँ नाका खोल्न आवश्यक सहजीकरणका लाग परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको जानकारी दिए ।
‘हामीले कुटनीतिक पहलका लागि परराष्ट्रलाई पत्र पठाएका छौं,’ प्रवक्ता रेग्मीले क्यापिटल नेपालसँग भने, ‘व्यवसायीहरूसँग पनि कति कन्टेनर रोकिएको हो, त्यसको जानकारी मागेका छौं ।’
वाणिज्य मन्त्रालयले सहजीकरणमात्र गर्न सक्ने र कुटनीतिक छलफल परराष्ट्रमार्फत हुने भएका कारण आफूहरूले ताकेता गरिरहेको उनको भनाइ छ ।
तिब्बतस्थित महावाणिज्यदूत नवराज ढकालमार्फत पनि रसुवा नाका खोल्न र रोकिएका कन्टेनरलाई सहज आउन दिने वातावरणका लागि समन्वय गरिरहेको उनले बताए ।
उता, परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पनि नाका खुलाउन कुटनीतिक पहल भइरहेको जानकारी दिइन् । वाणिज्य मन्त्रालयले पठाएको पत्र त्यसैबेला चीन सरकारलाई पठाइसकेको भन्दै उनले कुटनीतिक पहल जारी राखेको बताइन् ।
‘मन्त्रीज्यूको भ्रमणका बेला पनि बन्द नाका खोल्न चिनियाँ पक्षसँग अनुरोध गरिएको थियो,’ लम्सालले भनिन्, ‘सम्भवतः छिट्टै कार्यान्वयन हुन्छ होला ।’
दसैंमा चिनियाँ सामान अभाव हुने
चिनियाँ नाका नखुल्दा दसैंमा सस्ता लत्ताकपडा र जुत्ता अभाव हुने देखिएको छ । त्यससँगै चीनबाट आयात गरिएका स्याउ पनि अलपत्र परेको छ ।
दसैं र तिहारमा सबैभन्दा बढी लत्ताकपडा खरिद हुने गरेको छ । जसका कारण खुद्रा व्यापारदिेखि थोक व्यवसायीले चीनबाट सामान ल्याउने गरेका थिए ।
अहिले भने कोभिड कारण देखाउँदै कन्टेनर रोकिएपछि बजारमा सामान अभाव हुने र आए पनि महँगो हुनेछ । योसँगै भारतबाट ल्याउने सामान पनि महँगो हुने देखिएको छ ।
चीनबाट सामान नआउने भएपछि भारतीय सामान एकछत्र हुने भएकाले महँगो हुने देखिएको व्यवसायीको भनाइ छ । यसबाट व्यवसायीभन्दा सर्वसाधारण बढी मर्कामा पर्नेछन् ।