एजेन्सी । जहाज र यात्रुको सुरक्षा गर्दै सही गन्तव्यमा जहाज पुर्याउनु पाइलटको कर्तव्य हो । तर, उडिरहेको जहाजको ‘ककपिट’ मा पाइलट–पाइलटबीच कुस्ती पर्यो भने के होला ?
यस्तो घटना फ्रान्सको सरकारी वायुसेवा कम्पनी एयर फ्रान्समा घटेको छ । जहाज उडिरहेका बेला त्यसरी कुस्ती खेलेका दुई पाइटललाई एयर फ्रान्सले निलम्बन गरेको छ ।
स्वीजरल्यान्डको जेनेभाबाट फ्रान्सको पेरिस आइरहेको जहाजका क्याप्टेन र कोपाइलट ककपिटभित्रै कुस्ती खेले पनि उक्त उडान सुरक्षित पेरिस अवतरण गरेको र अन्य कुनै पनि उडान प्रभावित नभएको एयर फ्रान्सका एक अधिकारीले जानकारी दिए ।
फ्रेन्च ला ट्रिब्युन दैनिकले प्रकाशित गरेको समाचारअनुसार जेनेभाबाट जहाज उड्नासाथ क्याप्टेन र कोपाइलटबीच विवाद सुरु भएको थियो । विवाद हुँदाहुँदै एकले अर्कोलाई मुक्का प्रहार गरेका थिए । त्यसपछि एकअर्काको कठालो समातेर तानातान गरेका थिए ।
दुवैको झगडा छुट्ट्याउन अन्य ‘क्याबिन क्रु’ ककपिट छिरेका थिए । त्यसपछि आ–आफ्ना सिटमा बसेका पाइलट पुनः झगडा नगन्र र सुरक्षित गन्तव्य पुर्याउन् भनेर क्याबिन क्रुका एक सदस्य पूरै उडान अवधिभरि ककपिटभित्र बसेका थिए ।
गत जुनमा महिनामा ककपिटमा पाइलटबीच झगडा परेको विषयमा फ्रान्सको उड्डयन अनुसन्धान एजेन्सी ‘बिइए’ ले अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेपछि समाचार बाहिरिएको थियो ।
‘उडान सुरक्षा मापदण्डका सवालमा एयर फ्रान्सका केही पाइलटमा गम्भीर कमजोरी देखिएको छ,’ उक्त प्रतिवेदनमा छ, ‘एयर फ्रान्समा यसखालका घटना पछिल्लोपटक लगातार भइरहेका छन् ।’
त्यसैगरी सन् २०२० डिसेम्बरमा कंगोको ब्राजाभिलबाट पेरिस उडेको एयर फ्रान्सको एक जहाजको इन्धन चुहिएको थाहा हुँदाहुँदै पाइलटले जबर्जस्ती उडाइरहेका थिए ।
बिइएको प्रतिवेदनअनुसार उड्डयन मापदण्डअनुसार त्यसबेला पाइलटले इन्जिनको ‘पावर’ बन्द गरी जहाजलाई तत्काल सुरक्षित अवतरण गराउनैपर्थ्यो ।
यति हुँदा पनि पाइलटले जहाजलाई अर्को मुलुक चाडमा अवतरण गराएका थिए । तर, बिइएको प्रतिवेदनमा पावर बन्द नगर्दा इन्जिनमा आगलागी हुनसक्ने चेतावनी दिएको थियो ।
सोही किसिमका तीन घटना २०१७ र २०२२ मा भए पनि एयर फ्रान्सका पाइलटले उड्डयन सुरक्षा मापदण्डको सट्टा व्यक्तिगत हिसाबमा प्रतिक्रिया दिएको बिइएको प्रतिवेदनमा उल्लेख छ ।
गत अप्रिलमा न्युयोर्कबाट जेएफके विमानस्थलका लागि उडेको एयर फ्रान्सकै एउटा जहाजको उडान नियन्त्रण प्रणालीमा समस्या आउँदा पनि पाइलटले सामान्य लिएको बिइएको प्रतिवेदनमा छ ।
यता, एयर फ्रान्सले ती घटनाबारे ‘सेफ्टी अडिट’ गर्ने प्रतिक्रिया दिएको छ । उसले बिइएको सुुझावलाई गम्भीररूपमा लिई उड्डयन सुरक्षा मापदण्डका एकेक बुँदा पालन गर्न पाइलटलाई निर्देशन दिएको छ ।
एयर फ्रान्सले आफ्ना उडान दिनहुँ हजारौं हुने गरे पनि बिइएले ती चारवटा उडान सुरक्षाका घटनालाई मात्र सम्बोधन गरेकोमा ‘आपत्ति’ जनाएको छ ।
त्यसैगरी एयर फ्रान्स पाइलट एसोसिएसनले सबै पाइलटका लागि सुरक्षा पहिलो प्राथिमकता हुने भन्दै आकस्मिक अवस्थामा पाइलटका कामको बचाउ गरेको छ ।