काठमाडौं । उद्यमी विनोद चौधरीले सिमेन्ट उद्योगमा आक्रमक रूपमा लगानी विस्तार गरेका छन् ।
सन् २०१३ देखि दैनिक १ हजार ५ सय टन सिमेन्ट उत्पादन गर्दै आएको सिजी सिमेन्ट उद्योगका सञ्चालकसमेत रहेका चौधरीले ६ महिनाअघि दाङस्थित सम्राट सिमेन्टको ३० प्रतिशत सेयर ३ अर्ब रुपैयाँमा किनेका थिए ।
चौधरीले पुनः १४ अर्ब ७० करोड रुपैयाँ (१२ करोड ८० लाख अमेरिकी डलर) लगानीमा ‘सिजी सिमेन्ट इन्डस्ट्रिज पाल्पा प्रालि’ सञ्चालमा ल्याउन लागेका हुन् ।
गत असारमध्यमा क्लिंकराइजेसन इकाईमा तयार भए पनि ग्राइन्डिङ युनिट ल्याउन केही ढिलाइ हुने बताइएको छ । कूल लगानीमध्ये ७५ प्रतिशत बैंक ऋण र बाँकी २५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी हुनेछ ।
उद्योगले बैंकबाट लिएको १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ । सिमेन्ट उद्योग निर्माणाधीन अवस्थामा छ । हालसम्म ९० प्रतिशत भौतिक र वित्तीय प्रगति भएको सिजी पाल्पाले जनाएको छ ।
उद्योगबाट दैनिक २ हजार ९ सय ५० टन क्लिंकर र २ हजा ८ सय टन सिमेन्ट उत्पादन हुनेछ । उद्योगले भर्टिकल रोलिङ मिल प्रविधिबाट सिमेन्ट उत्पादन गर्नेछ ।
पाल्पा सरदेउवामा उद्योग पूर्वाधार निर्माणको काम भइरहेको छ । उद्योगबाट खानीको दुरी पाँच किलोमिटरमात्र छ । खानी नजिक हुँदा उद्योगले लाभ प्राप्त गर्ने छ । अन्य उद्योगका खानी ३० देखि ३५ किलोमिटर टाढा हुने गरेको छ । यसले अधिकांश लागत कम गर्ने अपेक्षा छ ।
सिजी पाल्पा एक निर्माणाधीन ग्रिनफिल्ड सिमेन्ट इकाई हो । अन्य समान मापन प्रतियोगीका दाँजोमा उद्योगको लागत उच्च छ ।सिमेन्ट उद्योगमा तीव्र प्रतिस्पर्धा, मागमा मध्यम र दबाबले सञ्चालनको प्रारम्भिक वर्ष स्थिरीकरण र लाभ पक्षलाई प्रभाव पार्ने सम्भावना हुन्छ । हालसम्म ७५ उद्योग सञ्चालनमा आइसकेका छन् । तीमध्ये ५५ सिमेन्ट र २० क्लिंकर उत्पादन उद्योग सञ्चालनमा छन् ।
अझै केही ठूला ग्रिनफिल्ड उद्योग पाइपलाइनमा छन् । यद्यपि, चालु आर्थिक वर्ष सरकारले सिमेन्ट निर्यात गर्ने उद्योगलाई आठ प्रतिशत नगद अनुदान दिने भएकाले यसबाट उद्योगलाई केही राहत हुनेछ ।
उद्योगले ‘अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट’ (ओपिसी) र ‘पोर्टल्यान्ड पोजोलाना सिमेन्ट’ (पिपिसी) उत्पादन गर्ने छ । उद्योग सन् २०११ मा स्थापना भएको थियो ।
सन् २०१३ मा सिजी सिमेन्ट इन्डस्ट्रिज सञ्चालनमा ल्याएको थियो । उद्योगले सिजी ब्रान्डमा सिमेन्ट उत्पादन गर्दै आएको छ । ग्रुपको ‘फास्ट मुभिङ कन्जुमर गुड्स’ (एफएमसिजी) हस्पिटालिटी, बैंक, जलविद्युत, अटोमोबाइल क्षेत्रमा लगानी छ । चौधरीका विभिन्न मुलुकमा होटलका साथै वाइवाइ चाउचाउ कारखाना छन् ।