काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बुझाएको स्पष्टीकरण अध्ययन गर्न समिति गठन भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गौतमश्रीको स्पष्टीकरणमा उल्लेख भएका विवरण अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिले पाँच दिनभित्र अध्ययन गरेर प्रतिवेदन बुझाउने सहकारी मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए । समितिले बुझाएको प्रतिवेदनका आधारमा गौतमश्रीको थप प्रक्रिया अगाडि बढ्ने उनले बताए ।
‘स्पष्टीकरणमा सहकारी सञ्चालन गर्नेलगायत विषय उल्लेख छन्,’ उनले भने, ‘मन्त्रालयमा आएको स्पष्टीकरणमा बचतकर्ताको पैसा फिर्ता गरी सहकारी सञ्चालन गर्न पाउँ भन्ने आग्रह गरिएको छ ।’
बचतकर्ताको निक्षेप लिएर सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारी फरार भएपछि सहकारीलाई सहकारी विभागले समस्याग्रस्त घोषित गर्न मन्त्रालयमा सिफारिस गरेको थियो ।
समस्याग्रस्त घोषित गर्नुअघि मन्त्रालयले सहकारीसँग स्पष्टीकरण मागेको थियो । अब अध्ययन समितिको प्रतिवेदनको आधारमा सहकारीलाई समस्याग्रस्त घोषित गर्ने वा नगर्ने प्रष्ट हुने जोशीले बताए ।
संस्थाका अध्यक्ष रामबहादुर गौतम, उपाध्यक्ष निर्मला खत्री गौतम, सचिव राम गौतम र सदस्यहरू होमकुमारी खत्री, अर्जुन गोतामे, सन्तोषी केसी, सुमित्रा कार्की, भगवती थापा र सुभास भुसालको बैंक तथा वित्तीय संस्थामा रहेका खाता रोक्का गर्न विभागले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिसकेको छ ।
१ हजार २ सयभन्दा बढी पीडित बचतकर्ताले १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको माग दाबीसहित विभागमा उजुरी गरेका छन् । विभागका अनुसार गौतमसहित सञ्चालक तथा व्यवस्थापक कर्मचारीहरूलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिन लिखित अनुरोध पठाइएको थियो ।
तर, गौतमश्रीका कुनै पनि सञ्चालक तथा कर्मचारी सम्पर्कमा नआएपछि विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको थियो ।