काठमाडौं । पछिल्लो समयमा नेपालको होटल क्षेत्रमा तीव्र गतिले लगानी बढ्दै गएको छ । होटल व्यापारमा साना तथा ठूला व्यवसायीका साथै राजनीतिज्ञसमेत लगानी गर्न थालेका छन् ।
सन् २०२० लाई सरकारले ‘नेपाल भ्रमण वर्ष’ रूपमा मनाउने पूर्वघोषणा कोरोना महामारीले स्थगित भए पनि होटलमा बृहत् परिमाणमा लगानी गर्ने संख्या भने बढिरहेको छ ।
यही फेरोमा बैंक तथा वित्तीय संस्था, रियल स्टेट, मिडिया, वायुसेवा उद्योगमा जमेका व्यवसायी राजेन्द्र शाक्यले पछिल्लो समय लगानी विविधिकरण गरी होटल व्यापारमा हात हालेका छन् ।
गुण ग्रुप अफ कम्पनिजका अध्यक्ष शाक्यले पछिल्लो समयमा अर्बौं रुपैयाँ लगानीमा एउटा पाँचतारे र अर्को बुटिक होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।
ती दुई होटलमा शाक्यले ७ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । जसअनुसार पाँचतारे ‘द म्यासिफ होटल’ मा ६ अर्ब ५१ करोड १० लाख र ‘डेज इन बुटिक’ होटलमा १ अर्ब १९ करोड ३० लाख रुपैयाँ लगानी हुने अनुमान छ ।
पाँचतारे म्यासिफमा उनको एकल लगानी हुनेछ भने बुटिक होटलमा ज्योति ग्रुपका सञ्चालक रुप ज्योतिको साझेदारी हुनेछ ।
म्यासिफमा ७५ प्रतिशत बैैंक तथा वित्तीय संस्था र बाँकी २५ प्रतिशत शाक्यको स्वपुँजी (इक्विटी) लगानी रहेको छ । ललितपुर ग्वार्कोमा शाक्यको गुण सिनेमा हलसँगै पाँचतारे म्यासिफ बनाइरहेका छन् ।
निर्माणाधीन होटल पाटन दरबार स्क्वायरबाट दुई किलोमिटर दूरीमा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने नजिक र काठमाडौं उपत्यका चक्रपथ छेउमा अवस्थित छ ।
लागत र समय बढ्ने सम्भावना छ । सन् २०२२ जुलाई मध्यमा आयोजना लागतको करिब ४३ प्रतिशत खर्च भइसकेको छ । हाल होटलको भवन संरचनाको काम पूरा हुने चरणमा छ ।
आन्तरिक सजावट र फर्निसिङ कार्य अझै प्रारम्भिक चरणमा छन् । होटलले १६ रोपनी क्षेत्रफल ओगट्ने छ । होटलको वित्तीय प्रगति ३५ प्रतिशत पुगेको छ ।
होटल २०८० असारसम्म सञ्चालनमा ल्याउने तयारी छ । २०२२ जुलाई मध्यसम्ममा परियोजना ऋणको ६० प्रतिशत र परियोजना इक्विटीको ६९ प्रतिशत उठाउन बाँकी रहेकाले पनि परियोजना ‘फन्डिङ ग्याप’ मा पर्नसक्छ ।
म्यासिफमा ३ सय २ कोठा रहने प्रस्ताव गरिएको छ । होटलका प्रतिकोठा लागत २ करोड १५ लाख रुपैयाँ हुने अनुमान छ । शाक्यको पाँचतारे होटल व्यवस्थापन भने नेपालीले गर्नेछन् ।
होटलले १ अर्ब ९५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । होटल निर्माणमा प्राइम कमर्सियल बैंकको लगानी छ । द म्यासिफ होटल प्रालि सन् २०१८ मा स्थापना भएको थियो ।
त्यसैगरी ज्योति ग्रुप अफ कम्पनिजका अध्यक्ष ज्योति र गुणका अध्यक्ष शाक्यको संयुक्त लगानीमा डेज इन बुटिक होटल सञ्चालनमा आउन लागेको हो ।
उक्त होटलमा दुवैको बराबर लगानी हुनेछ । होटल सन् २०२३ जुलाइमा सञ्चालनमा ल्याउने लक्ष्य छ । होटल २०२२ अप्रिलमा सञ्चालनमा ल्याउने तयारी भएकामा विभिन्न कारण एक वर्ष ढिला भएको हो ।
डेज इनले निर्माण गरिरहेको १० तले बहुउद्देश्यीय व्यापारिक भवनमा बुटिक होटल सञ्चालन हुनेछ । उक्त भवनमा ४९ कोठाको बुटिक होटलसहित ‘रिटेल स्पेस’ रहने प्रस्ताव छ ।
होटलमा ८० प्रतिशत बैंक ऋण र बाँकी २० प्रतिशत संस्थापकहरूको स्वपुँजी (इक्विटी) लगानी रहने उल्लेख छ । परियोजना लागत १ अर्ब १९ करोड ३० लाख रुपैयाँबराबर अनुमान गरिएको छ । हालसम्म ९० प्रतिशत वित्तीय प्रगति भएको डेज इनले जनाएको छ । होटलको इन्टेरियर र फर्निसिङको काम सुरु भएको छ ।