काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले अलपत्र बनाएको निर्माणाधीन तीनपिप्ले–बञ्चरेडाँडा सडक खण्ड बनाउन बोलपत्र आब्हान हुने भएको छ ।
सडक खण्ड निर्माण गर्दै आएको शैलुङ इन्टरप्राइजेजले ८ वर्षमा ७ पटक म्याद थप्दा पनि निर्माण सम्पन्न नगरेपछि शैलुङसँग ठेक्का तोडेर सडक विभागले नयाँ ठेक्का सम्झौता गर्न लागेको हो ।
साढे ४ किलोमिटर लामो सडकका लागि केही दिनअघि ठेक्का आह्वान गरिएकोमा हाल सम्झौताको प्रक्रियामा रहेको सडक विभागमा उपमहानिर्देशक एवं प्रवक्ता भीमार्जुन अधिकारी बताउँछन् । प्रवक्ता अधिकारिका अनुसार ४ महिनामा सकडको निर्माण कार्य सम्पन्न गर्ने विभागको योजना छ ।
क्यापिटल नेपालसँग कुरा गर्दै प्रवत्ता अधिकारी भन्छन्, ‘४ महिनामा सडक निर्माण सम्पन्न गर्ने योजना छ, छोटो प्रक्रिया अपनाएर ठेक्का आह्वान गरेका थियौं । अहिले मूल्यांकनको प्रक्रियामा छ, ३/४ दिनमा नयाँ ठेक्का लाग्छ ।’ ४ महिनामा सो सडक खण्डको निर्माण सम्पन्न गर्ने योजना भए पनि लागत रकमको विषयमा भने हालसम्म निर्णय हुन सकेको छैन ।
विभागको योजनाअनुसार काम गर्ने निर्माण व्यवसायीसँग ठेक्का सम्झौता हुनेछ । यसअघि सो सडक खण्ड निर्माण गर्दै आएको शैलुङ इन्टरप्राइजेजले ८ वर्षमा करिब ५५ प्रतिशत मात्रै काम गरेको छ ।
प्रचण्डका घरबेटीसँगको ठेक्का भएको कारण सडक विभागलाई यसअघि ठेक्का तोड्न समस्या हुँदै आएको थियो ।
विभागले असार ५ गते शैलुङसँग ठेक्का तोडेको थियो । तर, निर्माण कम्पनी शैलुङले असार १५ गते सडक विभागविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत ललितपुरकी न्यायाधीश सरिता शर्मा अधिकारीको एकल इजलासले साउन ३१ गते सडक विभागको पक्षमा फैसला गरेसँगै ठेक्का तोडिएको छ ।
विभागले ठेक्का सम्झौता रद्द गरेसँगै निर्माण व्यवसायीलाई ३ वर्षसम्म कालो सूचीमा राख्नसमेत सिफारिस गरेको छ । भारतको निर्यात–आयात (एक्जिम) बैंकको ऋण सहयोगमा निर्माण गर्न लागिएको सो सडक खण्ड शैलुङसँग करिब ३१ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । हालसम्म शैलुङ इन्टरप्रइजेजले १६/१७ करोड रुपैयाँ मात्रै रकम लिएको छ ।
सुरुमा २१.६ किलोमिटर लामो सडक निर्माण गर्ने भनिए पनि सडकको बीचमा शिवपुरी राष्ट्रिय निकुञ्ज पर्ने भएपछि सडकको लम्बाइ घटेर १७.१ किलोमिटरमा सीमित भएको छ । हाल बाँकी रहेको साढे ४ किलोमिटर सडक, सडक विभाग आफैंले बनाउन लागेको हो ।
एक्जिम बैंकको ऋण सम्झौता पनि तोडिएको प्रवक्ता अधिकारीको भनाइ छ । ‘अब विभाग आफैंले स्वदेशी लगानीमा साढे ४ किलोमिटर सडक निर्माण गर्छ, ऋण ल्याउने कुरा पनि रद्द भएको छ’ उनले क्यापिटल नेपालसँग भने ।