काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले आफ्नो चौथो स्थापना दिवसकाे अवसरमा कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा सेवाहरु उपलब्ध गराउने लक्षसहित एकैपटक आठ वटा सहायक पब्लिक कम्पनीहरुको उद्घाटन गरेकाे छ ।
कम्पनीले मुक्तिनाथ सिड बैक, मुक्तिनाथ फर्टिलाइजर बैंक, मुक्तिनाथ नर्सरी बैंक, मुक्तिनाथ लाईभस्टक बैंक, मुक्तिनाथ हर्बल बैंक, मुक्तिनाथ फूड बैंक, मुक्तिनाथ एग्रो मेशिनरी कम्पनी र मुक्तिनाथ ट्रेडिङगरी आठ वटा सहायक कम्पनीहरुको औपचारिक उद्घाटन गरेकाे हाे ।
देशको कुल ग्राहस्थ उत्पादनमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको समग्र विकासका लागि वित्तीय र गैरवित्तीय सेवाहरू प्रदानगरी कृषि चक्र (एग्रिकल्चर इको सिस्टम) बनाउने उद्देश्यले मुक्तिनाथ विकास बैंकको प्रमुख लगानीमा मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो ।
आफ्नो स्थापना कालदेखिनै निरन्तर रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायिक साझेदार, कम्पनीहरू तथा फर्महरू, कृषक समूह, सहकारीहरूसँग सहकार्य गर्दै कृषिको मुल्य श्रृङखला विकासका लागि व्यवस्थापकीय भूमिका निर्वाह गर्ने प्रयत्न गरिरहेका छौ ।
जसको लागि 'गाउँको उत्पादन शहरमा, शहरको पुँजी गाउँमा' र समृद्धिको आधार कृषि, कृषिको आधार प्रविधि' भन्ने मुल मन्त्रलाई सार्थक तुल्याउन 'कृषकसँग मुक्तिनाथ' र 'उपभोक्तासँग मुक्तिनाथ' अभियानको शुरुवातगरी सोहीअनुसारका कार्यक्रमहरु गर्दै आइरहेको छ ।
मुक्तिनाथ कृषि कम्पनीले बितेका ४ वर्षहरु विशेषगरी नेपालको कृषि क्षेत्रमा विद्यमान समस्याहरु, भइरहेका प्रयासहरु, व्यवसायिक अवसरहरु र समग्र कृषि क्षेत्रको विकासमा समग्र नीजि क्षेत्र र कम्पनीले गर्नुपर्ने लगानीका क्षेत्रहरु पहिचान गर्नका लागि स्पष्ट मार्गचित्र तयार गरेको छ ।
साथै, कम्पनीले आफ्नो उद्देश्यअनुसार हाल कृषकहरुलाई आवश्यक गुणस्तरीय उत्पादनका साधनहरू जस्तै मल, बिउ, रोग किरा नियन्त्रक, औजार उपकरणसहित कृषि परामर्श सेवा, अनुसन्धान, विकास र प्रविधि प्रसारको साथै कृषि उत्पादनहरुको खरीद सुनिश्चिततागरी राष्ट्रिय र अन्तराष्ट्रिय बजारीकरण सम्बन्धी कार्यहरु गर्दै आइरहेको छ ।
हालसम्म कम्पनीले ६२ वटा जिल्लाहरुमा विभिन्न व्यवसायिक साझेदारहरुको माध्यमबाट कम्पनीको वस्तु तथा सेवाहरु प्रवाह गरेको छ । जसको लागि पोखरा, बुटवल र चितवनमा प्रादेशिक कार्यालयहरु सञ्चालनमा रहेको र यस वर्ष इटहरी, चन्द्रनिगाहपुर, सुर्खेत र धनगढीमा प्रादेशिक कार्यालयहरू स्थापनको अन्तिम चरणमा पुगेको कम्पनीले जनाएकाे छ ।
कम्पनीले स्थापना गरेको सहायक कम्पनीहरूमा मुक्तिनाथ कृषि कम्पनीको ८० प्रतिशत र सर्वसाधारणबाट २० प्रतिशत लगानी रहने छ भने हरेक सहायक कम्पनीहरुले कृषि र सम्बन्धित क्षेत्रको लागि विशिष्टकृत वस्तु तथा सेवाहरुको उपलब्ध गराउनेछ ।
जसमा बिउ बैंकले गुणस्तरीय बीउ प्रवर्द्धन, मल बैंक, मलको दिगो मल व्यवस्थापन, नर्सरी बैंक जुनसुकै समयमा रोपणको लागि आवश्यक तयारी बिरुवाहरु उपलब्धता, लाइभस्टक बैंक पशुपन्छिजन्य उत्पादनहरुको उत्पादकत्व वृद्धि, हर्वल बैंकले प्राकृतिक अर्थतन्त्रको विकास, फुड बैंकले देशको सम्वृद्धिको लागि, मेशिनरी कम्पनी नेपाल उपयोगि औजारउपकरण उत्पादन, र ट्रेड्रिङ्ग कम्पनीले एकै ठाँउबाट कृषक र उपभोक्ताहरुलाई आवश्यक सामाग्रीहरुको वितरणका कार्यहरु गर्नेछन ।
त्यसैगरी, युवाहरुलाई कृषिमा आकर्षित गराउँदै कृषिको विकासमा व्यवस्थापकीय भूमिका स्थापित गर्न सहायक कम्पनीको नामाकरणमा बैंक शब्द राखिएको छ ।
कम्पनीले स्थापना गरेका सहायक कम्पनीहरु मार्फत कृषि क्षेत्रको विकासका लागि एकिकृत रुपमा नीजि क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिका निर्वाह गर्न मद्दत पुग्ने जनाएकाे छ ।
साथै, यो अभियानले नीजि लगानीकर्ताहरुलाई संस्थागत रुपमा कृषिमा लगानी गर्नको लागि मार्गदर्शन गर्ने कम्पनीकाे विश्वास छ । यो संगै विभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाटे स्थापना भई संचालन गर्न कठिनाई भइरहेका विभिन्न कम्पनी, उद्योग, फर्महरुलाई पनि सहायक कम्पनीहरुमा समाहितगरी सञ्चालन गर्न सक्षम हुने कम्पनीले अपेक्षा राखेको छ ।