काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सहकारी विभागलाई स्पष्टीकरण पेस गरेको छ । सहकारीले भदौ १४ गते मंगलबार विभागलाई स्पष्टीकरण पेस गरेको हो ।
बचतकर्ताको निक्षेप लिएर सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारी फरार भएपछि सहकारीलाई विभागले समस्याग्रस्त घोषित गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको थियो ।
समस्याग्रस्त घोषित गर्नुअघि मन्त्रालयले सहकारीसँग स्पष्टीकरण मागेको हो ।
सोहीअनुसार सहकारीले भदौ १४ गते मंगलबार स्पष्टिकरण पेस गरेको सहकारी विभागका सूचना अधिकारी टोलराज उपाध्यायले बताए ।
‘मन्त्रालयले सहकारीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर भनी पत्र लेखेको थियो,’ उनले भने, ‘मन्त्रालयले पत्र पठाएर मागेबमोजिम कागजपत्रसहित स्पष्टीकरण पेस गरेको छ ।’
सहकारीले बुझाएको डकुमेन्टको अध्ययन गरी थप प्रक्रिया अगाडि बढ्ने उपाध्यायले बताए । सहकारीले पेस गरेको डकुमेन्टको टिप्पणी सहितको फाइल तयार गरी एक– दुई दिनभित्र मन्त्रालयमा पठाउँछौं, उपाध्यायले क्यापिटल नेपालसँग भने ।
संस्थाका अध्यक्ष गौतम, उपाध्यक्ष निर्मला खत्री, गौतम, सचिव राम गौतम र सदस्यहरू होमकुमारी खत्री, अर्जुन गोतामे, सन्तोषी केसी, सुमित्रा कार्की, भगवती थापा र सुभास भुसालको बैंक तथा वित्तीय संस्थामा रहेको खाता रोक्का गर्न विभागले राष्ट्र बैंकलाई पत्राचार गरेको गरिसकेको छ ।
१२ सयभन्दा बढी पीडित बचतकर्ताले १ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको माग दाबीसहित विभागमा उजुरी गरेका छन् ।
विभागका अनुसार गौतमसहित सञ्चालक तथा व्यवस्थापक कर्मचारीहरूलाई सोधपुछ गर्न विभागमा उपस्थित गराइदिनुहुन भनी लिखित रूपमा अनुरोध गरी पठाइएकोमा उक्त संस्थाका कुनै पनि सञ्चालक तथा कर्मचारीहरूलाई सम्पर्कमा नआएपछि विभागले सहकारीलाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयमा सिफारिस गरेको थियो ।