काठमाडौं । भारतको एनएचपीसी लिमिटेडले बनाउन लागेको प्रस्तावित १२ सय मेगावाट क्षमताको पश्चिम सेती र सेती नदी–६ जलविद्युत आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको छ ।
भारत सरकार स्वामित्वको एनएचपीसी लिमिटेडले दुई आयोजनाबाट उत्पादन हुने बिजुली बेच्नका लागि त्यहाँको सरकार स्वामित्वको पावर ट्रेड कर्पोरेसन इन्डिया लिमिटेड (पीटीसी) सँग विद्युत खरिद बिक्रीका लागि समझदारी (एमओयू) गरेको छ ।
पीटीसीसँग बिजुली बिक्रीको एमओयूले पश्चिम सेती र सेती नदी आयोजनाबाट उत्पादन हुने बिजुलीको बजार सुनिश्चित भएको हो । विद्युत व्यापार सुनिश्चित हुने भएपछि एनएचपीसीलाई लगानी जुटाउन बैंकहरुसँग छलफल अघि बढाउन बाटो पनि खुलेको छ । पीटीसी भारत सरकार स्वामित्वको ठूलो विद्युत व्यापार कम्पनी हो ।
लगानी बोर्डसँग दुबै आयोजनाको संभाव्यता अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका लागि एमओयू गरेको एक सातापछि एनएचपीसीले पीटीसीसँग विद्युत व्यापार सम्झौता गरेको हो । एमओयूमा एनएचपीसीका अध्यक्ष सिंह र पीटीसीका अध्यक्ष राजीवकुमार मिश्रले हस्ताक्षर गरेका छन् ।
आयोजना आर्थिक रुपमा संभाव्य देखिए भारतबाट झण्डै ३ खर्ब रुपैयाँ लगानी आउनेछ । दुई आयोजना बनाउन भारत २ खर्ब ८८ अर्ब रुपैयाँ (१ खर्ब ८० अर्ब भारु) ल्याउने एनएचपीसीका अध्यक्ष तथा प्रवन्ध निर्देशक अभयकुमार सिंहले बताइसकेका छन् ।
तर, यो उनको प्रारम्भिक अनुमान मात्र हो । आयोजनाको जडित क्षमता, लागत र लगानीको प्रतिफल विस्तृत इन्जिनियरिङ प्रतिवेदन तयारपछि मात्र यकिन हुनेछ । आयोजना पूरै जलाशय, अर्धजलाशय वा नदी प्रवाहमा डिजाइन हुने अध्ययनपछि मात्र यकिन हुने भएको छ ।
बोर्डले एनएचपीसीलाई आयोजनाको अध्ययनका लागि मात्र अनुमति दिएको छ । साउन २३ मा बसेको मन्त्रिपरिषद् बैठकले समझदारीको मस्यौदा स्वीकृत गरेपछि हस्ताक्षर प्रक्रिया अघि बढेको थियो ।
एनएचपीसीका अध्यक्ष सिंहले निर्धारित समय र लागतमा आयोजना बनाउने जानकारी दिएका छन् । आयोजनाको सर्वेक्षण गर्न लगानी बोर्डले एनएचपीसीलाई अनुमति दिनेछ । त्यसपछि कम्पनीले सर्वेक्षणको काम सुरु गर्ने बताइएको छ ।
प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ५२ औं बैठकले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी ६ संयुक्त जलविद्युत परियोजनाको विकासका लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको हो ।
पश्चिम सेतीको जडित क्षमता ७५० र इन्डिकेटिभ सेती नदी–६ को ४५० मेगावाट रहेको सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजनाको क्षमता अझ बढ्ने संभावना छ । प्रारम्भिक अध्ययनअनुसार पश्चिम सेतीबाट वार्षिक ३ अर्ब ३० करोड युनिट र सेती नदीबाट १ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ ।
पश्चिम सेतीको विद्युतगृहबाट ५० किलोमिटर तल्लो तटीय क्षेत्रमा सेती नदी आयोजना निर्माण हुनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली न्यूअत्तरिया सबस्टेसनमा जोड्ने योजना रहेको सो अवसरमा जानकारी दिइयो ।
चालु आर्थिक वर्षको बजेटमा पनि सरकारले आयोजनालाई प्राथमिकतामा राखेको छ । आयोजनाबाट पाउने निःशुल्क ऊर्जालगायत अन्य लाभका विषयमा डीपीआरपछि निर्णय हुने जनाइएको छ ।
भारतीय कम्पनी एसजेभिएनले अरुण तेस्रो आयोजनाको २१.९ प्रतिशत निःशुल्क बिजुली दिएको छ । भारत निकासी हुने आयोजनाका लागि अरुण तेस्रोले एउटा आधार (बेञ्चमार्क) तय गरेको छ ।
त्यस्तै उसका ७ हजार ५ सय ३९ मेगावाट क्षमताका ११ आयोजना निर्माणाधीन छन । जलविद्युत र सोलारबाट गरी दुई दर्जन आयोजना सम्पन्न गरेर भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।
निर्माणाधीन आयोजनासमेत जोड्दा ऊसँग ३५ आयोजना पुग्ने छ । केही वर्षभित्र जडित क्षमता दोब्बर बढेर १४ हजार ६१० मेगावाट पुग्नेछ । त्यस्तै केही ठूला आयोजना पाइपलाइनमा छन् ।
एनएचपीसीले विकास गरेका आयोजनाबाट वार्षिक २४ अर्ब ८५ करोड ५० लाख युनिट बिजुली उत्पादन हुने गरेको छ । आर्थिक वर्ष २०२१–२२ मा एनएचपीसीले बिजुली बेचेर ८१ अर्ब ८१ करोड भारु आम्दानी गरेको थियो ।
साे अवधिमा एनएचपीसीको खुदनाफा ३५ अर्ब ३८ करोड भारु पुगेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । एनएचपीसीले सिक्किम, अरुणाचल, हिमाञ्चल, मध्यप्रदेश, जम्मु कश्मिर, उत्तराखण्ड र लद्दाखमा जलविद्युत आयोजना विकास गरिरहेको छ ।
पश्चिम सेती अगाडि बढ्दा सँगै रहेको सेती नदी–६ ले पनि गति लिने विश्वास गरिएको छ । सरकारले २०७५ सालमा आयोजना गरेको लगानी सम्मेलनमा ती आयोजनालाई शोकेसमा राखेको थियो ।
सेती नदी बझाङमा पर्ने साइपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डडेलधुरा र डोटी हुँदै अछाम पुगेपछि कर्णालीमा मिसिन्छ ।