काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराइले नेपालमा पछिल्लो समय हवाई दुर्घटना घटेको बताएका छन् । विमानस्थलको सुधार र मौसमलाई ध्यान दिएर उडान गरेका कारण दुर्घटनामा कमी आएको उनले जानकारी दिए ।
क्यानडाको मड्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को ४० औं महासभालाई सम्बोधन गर्दै उनले नेपालमा पछिल्लो समय हवाई दुर्घटना हुने क्रम घटेको बताएका हुन ।
नेपालको विशिष्टीकृत भौगोलिक बनावट र छिटो परिवर्तन हुने मौसमी अवस्थाका वावजुद पनि केही वर्षदेखि हवाई दुर्घटना दर कम हुदै गएको र यसका लागि थप हवाई सुरक्षा मापदण्ड कायम गरिएको मन्त्री भट्टराइले स्पष्टपारे ।
उनले युरोपियन कमिसनको हवाई सुरक्षा सूचीबाट उन्मुक्ति पाउन युरोपियन सेफ्टी एजेन्सीसँग हातेमालो र सहकार्य गरिरहेको बताए ।
नेपालमा पर्यटन प्राथमिकता प्राप्त उद्योग भएकाले हवाई सुरक्षालाई उच्चतम कार्य योजनामा राख्दै सम्पर्क विस्तार गर्ने, मौजुदा विमानस्थलको स्तरोन्नती र नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण,संचालन र व्यवस्थापनका लागि सरकारले नयाँ रणनीतिका साथ सञ्चालन गर्न लागेको उनले जानकारी दिए ।
मन्त्री भट्टराईले सन् २०२० लाई भ्रमण बर्षको रुपमा मनाउन लागिएको र २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको सो अवसरमा जानकारी गराए । उनले सबैलाई नेपाल भ्रमणको लागि निम्तो दिएका छन् ।
आइकाओको ७५ औं वर्ष पूरा भएको महासभामा १७२ राष्ट्रका १ हजार ८५० पर्यवेक्षक, ३५० सल्लाहकार, ६६ अन्तर्राष्ट्रिय संघसंस्थाका ३०० जना गरी करिब २ हजार २५०० प्रतिनिधिहरु सहभागी छन । सेप्टेम्बर २४ देखि शुरु भएको महासभा अक्टोबर ४ सम्म चल्ने छ ।
सम्मेलनमा नेपालबाट मन्त्री भट्टराई, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य, क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगाना, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललगायत सहभागी छन ।