काठमाडौं । दशैं, तिहार र छठ लगायतका ठुला चाडपर्वमा चिनीको अभाव नहुने भएको छ । स्वदेशी चिनी उद्योग र साल्ट्र टे«डिङ कर्पोरेसन लिमिटेडसँग रहेको मौज्दात चिनीले चाडपर्वका बेला हुने माग धान्ने देखिएको हो ।
दशैं, तिहार र छठसम्मको अवधिमा झन्डै ७० हजार टन चिनीको माग छ । मागबमोजिम अहिले साल्ट टे«डिङसँग १५ हजार र उद्योगसँग ५५ हजार टन मौज्दात भएकाले पनि चिनीको अभाव नहुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका महाप्रवन्धक योगेन्द्र गौचनले जानकारी दिए ।
चाडपर्वका बेला हुने उच्च माग पूर्ति गर्न थप २० हजार मेट्रिक टन चिनीको खरिद प्रक्रिया अघि बढेको उनले बताए । सरकारले ल्याउने भनेको २० हजार टन चिनी तिहारपछि मात्रै आइपुग्ने उनको भनाइ छ ।
‘चाडवाडका लागि पर्याप्त चिनी छ । त्यस्तो अभाव हुने देखिदैन्’ उनले भने, ‘तर, मूल्यमा चलखेल हुन सक्छ, त्यसमा हामी सचेत छौं ।’
सहुलियत मूल्य पसलमार्फत दशैं, तिहार र छठसम्म चिनी बिक्री वितरण हुने भएकाले चिनीको अभाव नहुने र मूल्य बढ्ने सम्भावना नरहेको साल्ट्र टे«डिङ कर्पोरेसनका सहायक महानिर्देशक कुमार राजभण्डारीले बताए । ‘अहिले सहुलियत पसलमार्फत चिनी बिक्री वितरण भइरहेको छ ।
बाँकी साल्ट्रसँग १५ हजार टन मौज्दात छ । १० हजार टन खरिद गर्न स्वीकृतीको पत्र आएको छ’ उनले भने, ‘टेन्डर लगायतका खरिद प्रक्रिया पूरा गर्नुपर्छ । तिहारपछि मात्र चिनी आउँछ । त्यस्तो अभाव र मुल्य बढ्ने अवस्था आउँला जस्तो लाग्दैन् ।’
चिनी क्रसिङ हुने सिजनसम्म माग धान्ने परिमाणको चिनी रहेको उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए । विगतदेखि नै चिनीको मुल्य समायोजन गर्न आग्रह गरेपनि अझैसम्म मुल्य यथावत रहँदा उद्योगी र किसान मारमा पर्ने स्थिति रहेको उनको भनाई छ ।
सरकारले समयमै खरिद प्रक्रिया अघि नबढाउँदा बजारको अवस्था हेरी मुल्य घट्न र बढ्न सक्ने सम्भावना रहेको अग्रवालको भनाई छ ।
चिनी क्रसिङ मंसिरपछि सुरु हुन्छ । त्यसबेलासम्मका लागि माग धान्ने पर्याप्त चिनी मौज्दात रहेको राजभण्डारीको भनाइ छ ।
मुलुकमा बार्षिक रुपमा झन्डै २ लाख ६० हजार मेट्रिक टन चिनीको माग छ । त्यस्मा पनि दशैं, तिहार र छठजस्ता चाडपर्वका बेला झन्डै ७० हजार टन चिनीको माग हुने गर्छ । अन्य १० महिना भने मासिक २० हजार टन चिनीको माग हुने गर्छ ।
तिहारपछि थप २० हजार टन चिनी
सरकारले चाडपर्वका बेला अपुग २० हजार टन चिनी खरिद गर्न स्वीकृती समेत दिइसकेको छ । तर, खरिद प्रक्रियाको ढिलाईले तिहारपछि मात्रै उक्त परिमाणको चिनी आउने देखिएको छ ।
चिनी तिहारपछि आएपनि कुनै अभाव नहुने गौचनको भनाइ छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई १०/१० हजार टन चिनी ५० प्रतिशत भन्सार महसुल छुट गरी खरिद गर्न स्वीकृति समेत दिइसकेको थियो । टेन्डर गर्दा एक÷डेढ महिना समय लाग्ने र तिहारपछि मात्रै थप चिनी आउने सरकारी अधिकारी बताउँछन् ।
गत २०७५ भदौदेखि सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाएको थियो । बार्षिक रुपमा ९५ हजार टन मात्रै चिनी आयात गर्नुपर्ने गरी परिमाणात्मक कोटा सिस्टम लागू गरेपछि स्वदेशमा चिनीको माग र आपूर्तिमा प्रभाव पर्ने गरेको छ । गत २०७६ असार मसान्तसम्मका लागि परिमाणात्मक बन्देजको म्याद थप गरेपनि अहिलेसम्म चिनी आयात हुन सकेको छैन् ।