काठमाडौं । चिनियाँ लगानीमा ७८ मेगावाटको सान्जेन खोला जलविद्युत आयोजना निर्माण हुने भएको छ ।चाइना हार्बर इन्जिनियरिङ कम्पनी लिमिटेड र वाइड रिसोर्सेस लिमिटेड हङकङको संयुक्त लगानीमा उक्त आयोजना बन्न लागेको हो ।
आयोजना सालासुङ्गी पावर लिमिटेडमार्फत निर्माण हुने भएको छ । प्रारम्भिक चरणमा रहेको आयोजना सन् २०२४ जुलाइमा पूरा हुने अनुमान छ ।
हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको विकासकर्ता कम्पनीले जनाएको छ । यद्यपि, अहिलेको प्रगति हेर्दा आयोजना निर्धारित समयमा पूरा हुने सम्भावना कम छ ।
आयोजना बनाउन १५ अर्ब ३८ करोड ७० लाख रुपैयाँ लाग्ने अनुमान छ । यसअघि आयोजनाको कूल लागत १३ अर्ब १९ करोड हुने अनुमान थियो । नेपाली रुपैयाँ अमेरिकी डलरसँग अवमूल्यन भएपछि लागत बढेको कम्पनीले जनाएको छ ।
कम्पनीले ९ अर्ब २३ करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ । आयोजनामा कूल लगानीको ८० प्रतिशत हिस्सा डलरको छ । आयोजनामा बैंकको ६० र संस्थापक स्वपुँजी (इक्विटी) ४० प्रतिशत हुनेगरी लगानी संरचना तयार पारिएको छ ।
आयोजनाको कूल लागतमध्ये ९२ प्रतिशत हिस्सा चाइना हार्बर र वाइड रिसोर्सेससँग छ । बाँकी आठ प्रतिशत नेपाली साझेदार विष्णु अधिकारीको छ ।
आयोजनामा नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा सिटिजन्स बैंक र कुमारी बैंकले ९ अर्ब २३ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । २०७६ जेठ ३१ मा आयोजनाको विकासकर्ता सालासुङ्गी र बैंकहरूबीच ऋण लगानी सम्झौता भएको थियो ।सान्जेन खोला नदी प्रवाह (रन अफ द रिभर) मा आधारित आयोजना हो ।
आफैं निर्माण तथा सञ्चालन (बुट) मोडलमा आयोजना निर्माण हुन लागेको हो । आयोजना इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्ट्रयाक्ट (इपिसी) मोडलमा बन्ने छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले किन्ने गरी खरिद–बिक्री सम्झौता (पिपिए) भएको छ । बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खायाममा ८.४० रुपैयाँमा पिपिए भएको छ ।
आयोजनाको लोडफ्याक्टर ६२.७१ प्रतिशत छ । वार्षिक तीन प्रतिशतका दरले आठ वर्षसम्म आयोजनाले मूल्यवृद्धि पाउने छ ।आयोजनाबाट उत्पादन हुने बिजुली साढे सात किलोमिटर दुरीमा रहेको चिलिमे हबको १३२ केभी सबस्टेसनमा जोडिने भएको छ ।
आइइई प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरिसकेको कम्पनीले जनाएको छ । आयोजनाले १ सय ३६ वर्गकिलोमिटर ढाक्ने छ ।
यसअघि २०२० जुन २२ सम्म बिजुली उत्पादन गर्नुपर्ने थियो । कोरोना महामारीले आयोजनाको काम सुरु नहुँदा २०२२ जुलाई ३१ सम्म पुगेको थियो । त्यसबेला पनि सम्पन्न नभएपछि आयोजनाको समय २०२४ जुनसम्म पुगेको छ । विद्युत उत्पादन मिति थप्न कम्पनीले विद्युत प्राधिकरणसँग अनुरोध गरेको छ ।
सालासुङ्गी पावर २००९ मा स्थापना भएको हो । २०२० मा सालासुङ्गी पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीको अध्यक्षमा युन लियाङ छन् । यस्तै सञ्चालकमा विष्णुराज अधिकारी छन् ।
आयोजना रसुवाको चिलिमेमा रहेको सान्जेन खोलामा छ । सान्जेन खोला आयोजनाको डिजाइन डिस्चार्ज ९.१० क्युमेक प्रतिसेकन्ड रहने र खुदहेड करिब १ हजार मिटर हुनेछ ।