काठमाडौं । नेपालमै सामसङ ब्रान्डका टेलिभिजन (टिभी) उत्पादन घोषणा गरेको हिम इलेक्ट्रोनिक्सले सोही ब्रान्डमा फ्रिजर र वासिङ मेसिन पनि उत्पादन गर्ने भएको छ ।
यसका लागि तयारी थालिएको कम्पनीले जनाएको छ । टिभीको सफल उत्पादनपछि फ्रिज र वासिङ मेसिन उत्पादन थाल्ने तयारी उसको छ । कम्पनीका अनुसार पहिलो प्राथमिकता टिभी उत्पादन हो । त्यसपछि थप दुई प्रडक्ट फ्रिजर र वासिङ मेसिन पनि यही बनाउने विषयमा सामसङ ग्लोबलसँग छलफल भइरहेको र उनीहरू पनि तयार रहेको जानकारी आएको छ ।
‘क्याथोड रे ट्युब’ (सिआरटी) टिभी उत्पादन गर्दै आएको हिमले मुलुकमै पहिलोपटक एलइडी प्यानल उत्पादन गरेर सामसङ ब्रान्डमा टिभी बनाउने भएको हो । कम्पनीले टिभीका लागि आवश्यक ‘ग्लास सेल’ मात्रै बाहिरबाट ल्याउने छ । बाँकी एलइडीका सम्पूर्ण प्यानल यहीँ बन्न लागेका हुन् ।
हिमले नेपालमै पहिलोपटक एलइडी प्यानल बनाउन लागेको हो । यसअघि ग्लास सेलसहित एलइडी प्यानल पनि बाहिरबाटै ल्याएर टिभी एसेम्बल गरिरहेको थियो । हिम इलेक्ट्रोनिक्स गोल्छा ग्रुपअन्तर्गतको कम्पनी हो ।
कम्पनीका अनुसार सामसङ ग्लोबलको प्राविधिक संयुक्त लगानीमा टिभी उत्पादन हुनेछ । ‘गुणस्तर नियन्त्रण तथा परीक्षण सामसङले नै गर्ने छ,’ गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले क्यापिटल नेपालसँग भने, ‘सामसङ ग्लोबलको प्राविधिक सहयोगमा टिभी बन्न लागेको हो ।’
उनका अनुसार आगामी ६ महिनाभित्र नेपालमै बनेका सामसङ टिभी बजार आउने छ । त्यसका लागि गोल्छा ग्रुपले १ अर्ब रुपैयाँ लगानी गर्ने छ । उक्त रकम जग्गासहित हो । जग्गाबाहेक ५० करोड लगानी हुनेछ ।
‘टिभी उत्पादनका लागि भौतिक संरचना सबै बनिसकेका छन्,’ गोल्छाले भने, ‘रोबोटिक मेसिनसमेत ल्याइसकेका छौं । अहिले धमाधम जडान कार्य चलिरहेको छ ।’ हिमले वार्षिक ३ लाख ५० हजार थानभन्दा बढी सामसङ टिभी बनाउने छ । पहिलो चरणमा ८५ इन्चका टिभी उत्पादन हुनेछन् । उत्पादित टिभीमध्ये नेपालमा खपत हुनेबाहेक सबै विश्वबजारमा निर्यात हुनेछन् ।
सामसङ ग्लोबलले नेपालमा बनेका टिभी आफ्नो सञ्जालमार्फत विश्वबजार लैजाने छ । हिमले बनाउने टिभीमा ‘पिसिभी’ हुँदैन । सामसङसँगको प्राविधिक संयुक्र लगानीमा उत्पादन हुने भएकाले गुणस्तरमा सम्झौता नहुने कम्पनीको दाबी छ ।
नेपालमा बन्ने सबै टिभी रोबोटिक मेसिनबाट बन्ने हुन् । टिभीका हरेक कुनामा लाइट राख्नुपर्छ । त्यो सबै रोबोटबाट हुन्छ । टिभीभित्र स–साना पिक्सेल रोबोटिकले सेट गर्छ । सामसङले नेपालमा बनेका टिभी निर्यात गर्ने सुनिश्चितता प्रकट गरेको छ । त्यसमा सामसङ ग्लोबलले अभ्यास गरिरहेको छ ।
गोल्छाका अनुसार टिभी निर्माणमा अधिकांश महिला र ‘ग्र्याजुएट’ कामदार राखिने छ । उद्योग नवलपरासीको भूमेरोडमा रहने छ ।