काठमाडौं । केही समययता लगातार सहकारी संस्था समस्यामा पर्न थालेपछि बैंक तथा वित्तीय संस्थाका निक्षेप निरन्तर घटिरहेको पाइएको छ । समग्रमा केन्द्रीय बैंकले सहकारीमार्फत निक्षेप बाहिरिएको नस्विकारे पनि व्यवहारमा भने बैंक निक्षेप व्यक्तिका घरमा थुप्रिएको घटनाक्रमहरूले देखाउँछन् ।
तर, त्यसलाई वैधानिक तवरले कसैले पनि पुष्टि गरेका छैनन् । र, यो तथ्य स्वीकारेका पनि छैनन् । सहकारीमा निक्षेपकर्ता पैसा फिर्ता माग्दै आउन थालेपछि संस्थाको प्रतिष्ठा जोगाउन धेरै सहकारीले आफूले बैंकमा राखेका निक्षेप ल्याएर धमाधम फिर्ता गरिरहेका छन् ।
एकपछि अर्को गर्दै भागेका सहकारीका त्रासमा बसेका निक्षेपकर्ताले त्यहाँबाट फिर्ता लिएको पैसा तुरुन्तै बैंकमा लगेर राख्ने अवस्था पनि छैन । सहकारीबाट झिकेको पैसा बैंकमा राख्दा थोरै रकमको हकमा स्रोत नचाहिने भए पनि मध्यम भने जनाउनुपर्छ । धेरै रकमको हकमा सम्पूर्ण विवरण खुल्ने गरी प्रष्ट्याउनुपर्छ ।
तर, सहकारीबाट झिकेको रकमको स्रोत प्रष्ट नदेखिने हुँदा व्यक्तिहरूले बैंकमा लगेर जम्मा गर्न पनि सकेका छैनन् । यस्तो पैसा साना परिवारदेखि ठूला व्यवसायी (घराना) सम्मले घरमा लगेर राख्ने गरेका छन् । उनीहरूका अनुसार यस्तो रकम नगर्दै कारोबार हुने अपारदर्शी क्षेत्रमा खर्च गरिने र परिस्थिति सुध्रिएपछि पुनः सहकारीमै जम्मा गर्ने गरिन्छ ।
सहकारीमा समस्या देखिनु र बैंकबाट नाटकीय पारामा निक्षेप घट्नुले व्यक्तिका घर–घरमा पैसा थुप्रिएको अनुमान गर्न सकिन्छ । परिस्थिति यस्तोसम्म थियो कि व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको चालु पुँजी कर्जावापतको ऋण सहकारीमा लगेर राख्थे र त्यो पैसामा आउने निक्षेपको ब्याज अन्तरबाट कमाउने पनि गर्थे । तर, पछिल्लो समय चालु पुँजी कर्जामा पनि केन्द्रीय बैंकले कडा नीति लिएपछि व्यवसायी थप अलमलमा छन् ।
खासगरी, सहकारी समस्या समाधानमा ठोस पहल नहुने हो भने बाहिरिएको निक्षेप वित्तीय प्रणालीमा फर्किन निकै गाह्रो हुने देखिन्छ । किनभने, सहकारीबाट वित्तीय संस्थामा निक्षेप जम्मा गर्दा संस्थागत निक्षेपका रूपमा रहने हुँदा धेरै खोजी गरिँदैन थियो । तर, त्यही पैसा व्यक्तिले निक्षेप गर्दा बढी खोजीनीति हुन्छ । बैंकरहरूले वित्तीय संस्थामा पैसा जम्मा गर्दा धेरै खोजीनीतिको समस्याका कारण निक्षेपकर्ता भड्किएको बताउँदै आएका छन् ।
केन्द्रीय बैंकले जतिसुकै वित्तीय सुशासन र वित्तीय पहुँचको व्याख्या गरे पनि कतिपय सहरी इलाकासहित ग्रामीण क्षेत्रमा सहकारीलाई पनि फाइनान्स वा बैंककै रूपमा बुझ्दछन् ।
सहकारीलाई फाइनान्स मानेर तर्सिएका निक्षेपकर्ता फाइनान्स वा बैंकलाई पनि सहकारीसरह मान्छन् । त्यसैले उनीहरू हतपती बैंकमा पैसा राख्न डराउँछन् । घर–घरमा आफ्ना प्रतिनिधि पठाएर सहकारीले पैसा उठाउने गर्छन् । तिनै सहकारी एकपछि अर्को गर्दै समस्याग्रस्त हुँदा बैंकको निक्षेप पनि घट्न थालेको र प्रणालीमा फर्किन निकै कठिन देखिएको छ । यसतर्फ कसैको ध्यान गएको देखिँदैन ।
अवैधानिक लेनदेन (भ्रष्टाचार, कर छली, कर नतिरेको आम्दानीलगायत) पैसा सहकारीमा जम्मा हुन्थे । र, त्यो पैसा सहकारीले संस्थागत निक्षेपका रूपमा वित्तीय संस्थामा राख्थे । सहकारी समस्यामा पर्न थालेसँगै ती पैसा ज–जसले राखेका थिए, उनीहरूले सहकारीबाट फिर्ता लिए अनि सहकारीले बैंकबाट फिर्ता लिए । जसको असर वित्तीय प्रणालीमा देखियो ।
अहिले केही व्यक्तिसँग घर–घरमै ठूलो रकम नगदै रहेको अनुमान गर्न गाह्रो पर्दैन । केन्द्रीय बैंकको असार ३१ को अपरिष्कृत विवरणअनुसार ५१ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेपका रूपमा प्रणालीमा थियो । त्यो पैसा घटेर भदौ ११ सम्म ५ खर्ब २२ अर्बमा सीमित भएको छ । गत साता एकै दिन १९ अर्ब निक्षेप बढे पनि त्यसपछि भने घट्ने क्रम रोकिएको छैन ।