काठमाडौं । अधिकांश साना तथा मझौला उद्योग सञ्चालन गर्न बैङ्क तथा वित्तीय संस्थाहरुले ऋण नपत्याउने गरेको देखिएको छ । साना तथा मझौला उद्योगीहरुले बैङ्कले ऋण नदिएको भन्ने गुनासो गरिरहेकै बेला बैङ्कहरुले यस क्षेत्रमा निकै कम लगानी गरेको देखिएको हो ।
नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागले साना तथा मझौला उद्यममा वित्तीय साधन परिचालन सम्बन्धमा गरेको अध्ययनमा साना तथा मझौला उद्योग सञ्चालन गर्न बैङ्कहरुको सुरुआती लगानी १६ प्रतिशत मात्रै भएको देखिएको हो । यस्ता उद्योग सञ्चालन गर्ने अधिकांश उद्योगीले ३३ प्रतिशत पैतृक सम्पत्ति लगानी गरिरहेको राष्ट्र बैङ्क अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बताए । उनका अनुसार अध्ययनले साना तथा मझौला उद्योगहरूले २६ प्रतिशत आफ्नै आम्दानीको बचतबाट लगानी गरको देखिएको छ ।
त्यस्तै, उद्योग व्यवसायीहरुले अनौपचारिक कर्जा ८ प्रतिशत, विप्रेषण आयबाट ७ प्रतिशत, सहकारी संस्थाबाट ६ प्रतिशत र भेन्चर क्यापिटलबाट ०.५ प्रतिशत लगानी जुटाउने गरेको देखिएको छ । तर, त्यस्ता साना उद्योगहरूले सेयर निष्कासन गरेर पुँजी जुटाएको नदेखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
उद्यमीहरुले बैङ्किङ क्षेत्रबाट कर्जा प्राप्त गर्न घरजग्गा धितोको आवश्यकता र प्रक्रियागत झन्झटलाई प्रमुख समस्या मानेका छन् । संस्थागत क्षमताको विकास हुन नसकेको र कर्जा दुरुपयोगको सम्भावनासमेत रहेकाले साना तथा मझौला उद्योगमा पर्याप्त कर्जा प्रवाह हुन नसकेको उल्लेख छ ।
त्यस्ता उद्योगका लागि लगानीको स्रोतका रुपमा भेन्चर क्यापिटल÷प्राइभेट इक्विटी फन्ड कम्पनीहरुको विकास हुन नसकेको अध्ययनले देखाएको छ । अध्ययनमा उत्पादनका आधारमा उद्योगहरुलाई वर्गीकरण गरिएको छ । त्यस्ता उद्योगहरुमा ३६ प्रतिशत उत्पादनमूलक, २६ पर्यटन उद्योग, २१ सेवामूलक, १२ कृषि उद्योग, ३ निर्माण उद्योग र २ प्रतिशत ऊर्जासम्बन्धी उद्योग रहेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, नेपालमा दुई तिहाइभन्दा बढी साना उद्योगहरूले छोटो अवधिको कर्जा उपयोग गर्दै आएका छन् । तर अधिकांशको आवश्यकता भने मध्यम तथा लामो अवधिको कर्जा रहेको अध्ययनमा देखिएको छ । मझौला उद्योगका हकमा मध्यम तथा लामो अवधिको कर्जाको उपयोग भएको तर, यस्ता उद्योगहरुमा लामो अवधिको कर्जाको आवश्यकता सर्वाधिक रहेको पनि उल्लेख गरिएको छ ।
साना तथा मझौला उद्योगहरूले बैङ्क तथा वित्तीय संस्थाहरुलाई न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १८ प्रतिशतसम्म र औसतमा वार्षिक १२.५१ प्रतिशत ब्याज तिर्ने गरेको देखिएको छ । मझौला उद्योगहरूले भन्दा साना उद्योगहरूले बढी ब्याज तिर्ने गरेको देखिएको छ । १४ प्रतिशत ब्याज तिर्ने साना तथा मझौला उद्योगहरूको संख्या सबैभन्दा बढी रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
२०७६ असार मसान्तमा कृषि, ऊर्जा र पर्यटन क्षेत्रबाहेकका साना तथा मझौला उद्योगमा बैङ्क तथा वित्तीय संस्थाहरुले ३.२६ प्रतिशत कर्जा प्रवाह गरेका छन् । नेपालमा सक्रिय १३ हजार ५७८ बचत तथा ऋण सहकारीसहित ३४ हजार ५१२ सहकारी संघ÷संस्थाहरु सञ्चालनमा छन् ।
नेपालमा अहिले ९ लाख २३ हजार ३५६ व्यावसायिक एकाइ सञ्चालनमा छन् । जसमा ३२ लाख २८ हजार ४५७ व्यक्ति संलग्न छन् । आर्थिक वर्ष २०७४÷०७५ सम्ममा साबिक घरेलु तथा साना उद्योग विभाग र घरेलु तथा साना उद्योग विकास समितिमा २ लाख ६८ हजार ९३४ साना उद्योग दर्ता भएका छन् । उद्योग विभागमा २०७५ असार मसान्तसम्म ४ हजार ८५९ साना उद्योग र १ हजार ६४० मझौला उद्योग दर्ता भएका छन् ।
नेपालमा साना तथा मझौला व्यवसायको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २२ प्रतिशत योगदान छ । झन्डै १७ लाख रोजगारी सिर्जना गरेको प्रतिवेदनले देखाएको छ ।