काठमाडौं । प्रतिष्ठित व्यावसायिक घरना त्रिवेणी ग्रुपको लगानीमा १८० मेगावाटको कालिगण्डकी गर्ज अर्धजलाशय जलविद्युत आयोजना (पीआरओआर) निर्माण हुने भएको छ । ग्रुपले कालिगण्डकी गर्ज हाइड्रोपावरमार्फत सो आयोजना निर्माण गर्न लागेको हो ।
आयोजना बनाउन ३९ अर्ब ७४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । अर्धजलाशय आयोजनाबाट वार्षिक १ अर्ब ५ करोड ५५ लाख ५२ हजार ३१३ युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार वर्खामा ७१ करोड ७३ लाख ३८ हजार र सुक्खायाममा ३३ करोड ८१ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने विकासकर्ता कम्पनीले जनाएको छ ।
आयोजनाबाट उत्पादन हुने बिजुली खरिदबिक्री सम्झौता (पीपीए) का लागि कम्पनीले निवेदन दिएपछि विद्युत नियमन आयोगले सहमति दिन लागेको छ । आयोगले यही भदौ ३१ गते शुक्रबार सार्वजनिक सुनुवाइको आयोजना गरेको छ ।
सुनुवाइपछि नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच पीपीएको प्रक्रिया अघि बढ्ने छ । पीपीए भएपछि विकासकर्ता कम्पनीलाई लगानी जुटाउन बाटो खुल्ने छ । कम्पनीले पीपीएका लागि १८० मेगावाटका लागि निवेदन दिएको छ ।
यद्यपी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १६४ मेगावाटका लागि मात्र विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । विभागले आयोजनाको जडित क्षमता बढाउन स्वीकृति दिने भएको छ ।
विद्युत प्राधिकरणले अर्धजलाशय आयोजनालाई बेग्लै पीपीए दर निर्धारण गरेको छ । जसअनुसार बर्खामा प्रतियुनिट ४.८० रुपैयाँ, पिकिङ अवधिका लागि १०.५५ रुपैयाँ र पिकिङ नहुने अवधिका लागि ८.४० रुपैयाँ पीपीएदर तोकेको छ । सोही दरमा विकासकर्ता कम्पनी र विद्युत प्राधिकरणबीच पीपीए हुनेछ ।
आयोजनाले प्राधिकरणबाट वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउने छ । सुक्खायाममा आयोजनाको पिकिङ अवधि दैनिक ६ घण्टा हुने छ । आयोजनाले सुक्खायाममा पनि दैनिक ६ घण्टा १८० मेगावाट बिजुली उत्पादन गर्ने छ ।
वहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिको आयोजनालाई अर्धजलाशय बनाउन विद्युत विकास विभागले सैद्धान्तिक सहमति दिएको छ । नदी प्रवाही आयोजनाको पीपीए रोकिएपछि अर्धजलाशयमा आयोजनाको डिजाइन गरिएको हो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको २०७५ असारमा भएको चीन भ्रमणका क्रममा बुधबार बेइजिङस्थित नेपाली दूतावासमा आयोजनाको प्रवद्र्धक हाइड्रो सोलुसनका सञ्चालक ज्ञानेन्द्रलाल प्रधान र युनाङ सिङ हवा वाटर कन्जरभेसन एण्ड हाइड्रोपावरका प्रतिनिधिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
विभिन्न कारण देखाएर चिनियाँ कम्पनी नआउने भएपछि नेपाली लगानीमा आयोजना निर्माण हुन लागेको हो ।
मुस्ताङको थासाङ गाउँपालिकाको घाँसामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा विद्युत्गृह प्रस्ताव गरिएको आयोजना म्याग्दीमा हालसम्मकै ठूलो हो ।
विकासकर्ता कम्पनीको अध्यक्षमा सुवासचन्द्र संघई छन् । उनी त्रिवेणी ग्रुपका सञ्चालक हुन् । त्रिवेणी ग्रुपले ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ ।
यस्तै निर्माणाधीन ८२ मेगावाटको तल्लो सोलु जलविद्युत आयोजनाको ५० प्रतिशत स्वामित्व खरिद गर्न लागेको छ । पछिल्लो समय ग्रुप जलविद्युतमा लगानी विस्तार गर्न लागेको छ । ग्रुपले सिमेन्ट, खाद्यतेललगायतका उद्योग व्यवसाय सञ्चालन गर्दै आएको छ ।