काठमाडाैं । नेपाली उद्यमीलाई प्रोत्साहन तथा साथ प्रदान गर्ने उदेश्यले नेपाली युवा उद्यमी मञ्च काठमाडाैं च्याप्टरले 'नेपाली युवा उद्यमी मञ्च काठमाडौ स्टार्टअप अवार्ड' आयोजना गर्ने भएको छ ।
यस वर्ष संस्थाले युवाहरूलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअफ आइडियालाई पुरस्कृत गर्ने भएको हाे । संस्थाले यस कार्यक्रममार्फत नयाँ उद्यमीहरूलाई आवश्यक पर्ने एक्स्पाेजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्नेछ ।
यस अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरु नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ ।
त्यस्तै, स्टार्टअप स्थापना भएर पाँच वर्ष नकटेको हुनुपर्नेछ । स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनुपर्नेछ । स्टार्टअपले आफ्नो सबै भन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तीय विवरण (अडिट रिपोर्ट) बुझाउनु पर्नेछ ।
अडिटेड वित्तीय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तीय विवरण बुझाउनु पर्नेछ । यि सबै आवश्यक कागजपत्र पेस गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरू मात्र अवार्डको लागि योग्य हुनेछन् । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले संचालन गरेको कम्पनी भने सहभागी हुन पाउने छैन ।
यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाईस अवार्ड प्रदान गरिनेछ । उक्त स्टार्टअप अवार्डमा उत्कृष्टले क्रमश: ४ लाख, २ लाख तथा १ लाख नगद उपहार प्राप्त गर्नेछन ।
यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्सोरेन्स र सह प्रायोजक सिद्धार्थ बैंक लिमिटेड गरेका छन् । दर्ता फारम भाद्र १० गते देखि खुल्ने छ । दर्ता फारम एनवाइइएफ वभ साइटमा उपलब्ध हुनेछ ।
सरकारले नेपालमा स्टार्टअप उद्यमी विकासको लागि १ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ । जसमा नयाँ स्टार्टअपहरूले परियोजनाको आधारमा २५ लाखबिना धितो पाउन सक्ने प्रावधान राखिएको छ ।