काठमाडौं । नेपालमा थप विदेशी पर्यटकहरुलाई भित्र्याउन सन् २०२३ देखि ०३३ सम्मलाई पर्यटन दशकको रुपमा घोषणा गर्न पर्यटन मन्त्रीहरुले सरकारलाई अनुरोध गरेको छ ।
सनिवार संघीय सस्कृती,पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसहित सातै प्रदेशका पर्यटन मन्त्रीहरु र सम्बन्धीत विभागका प्रमुखहरू बीच भएको बैंठकले पर्यटन दशक घोषणा गर्न सरकारलाई अनुरोध गर्ने निर्णय भएको पर्यटन मन्त्रालयका प्रवक्ता डा.टोकराज पाण्डेले जानकारी दिए ।
नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्न सक्ने किसिमको जलवायु तथा मौसमी विविधता रहेको हुँदा नेपाललाई सबै मौसममा पर्यटकीय गतिविधि गर्न मिल्ने पर्यटकीय गन्तव्यका रुपमा अन्तर्राष्ट्रिय बजारीकरण गर्ने निर्णयसमेत भएको छ ।
प्रत्येक प्रदेशका पर्यटकीय दृष्टिकोणले आकर्षक र महत्वपूर्ण रहेका स्थानहरुको ब्रान्डिङ्गगरी पर्यटकीय गन्तव्यहरुको विविधीकरणमा जोड दिने, पर्यटन क्षेत्रसँग सम्बन्धित साझा अधिकारका विषयहरु,सरकारबाट स्वीकृत कार्य विस्तृतीकरण प्रतिवेदन र संघ, प्रदेश र स्थानीय तहबीच एकरुपता कायम गर्नुपर्ने नीतिगत विषयहरुका सम्बन्धमा छलफल भएको जनाएको छ ।
नेपालको पर्यटनलाई पुनरुत्थान गर्दै राष्ट्रिय अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा स्थापित गर्न नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान कार्ययोजना २०७९ लाई सहकार्यात्मक एवंम् समन्वयात्मक तवरले कार्यान्वयन गर्ने विषयमा समितिमा सदस्यबाट प्रतिबद्धता प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रीहरूको बैंठकले निजी क्षेत्रलाई पर्यटन व्यवसायमा लगानीका निम्ति विभिन्न सहुलियत तथा सेवा सुविधाहरु प्रदान गर्न अन्तर निकाय समन्वयलाई निरन्तरता दिने र ग्रामिण पर्यटनको विकासका निम्ति सामुदायिक सहभागितालाई प्रवर्द्धन गर्ने निर्णय समेत भएको छ ।
यससँगै विदेशी पर्यटकहरुको नेपाल प्रवेशमा सहजीकरण गर्न सीमा क्षेत्रमा हुने चेकजाँचलाई व्यवस्थित गर्न सम्बन्धित निकायसँग अनुरोध गर्ने समेतको निर्णय भएको उल्लेख छ ।