काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पछिल्लोपटक सुरु गरेका कामकारबाहीको अहिले चौतर्फी स्वागत भइरहेको छ । भवन बनाउनुअघि नक्सा पास गर्दा एकथरी निर्माण अनुमति लिने अनि भवन बनिसकेपछि अर्कै काममा प्रयोग गरी अनधिकृत काम गरिरहेका ठूला सपिङ मल, व्यापारिक कम्प्लेक्स, अस्पतालदेखि रेस्टुराँ र डिस्कोमत्र होइन, सरकारी कार्यालयसम्म हाल मेयर साहको निशानामा परेका छन् ।
हालै नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स, सुन्धाराको काठमाडौं मल, न्युरोडको आरबी कम्प्लेक्स, त्रिपुरेश्वरको राहदानी विभाग, दरबारमार्गको लन्डन पबलायतमा बनाइएका अनधिकृत संरचनामाथि डोजर चलाइदिए । उनको डोजरको निशानामा परेका व्यापारी र घरबेटी मुर्मुरिए पनि सर्वसाधारण भने औधी खुसी भएको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाबाट प्रष्ट हुन्छ ।
खासमा, काठमाडौं बाहिरका अझ विशेषगरी पहाडी भेगमा डोजरलाई विकास होइन ‘विनाश’ कै रूपमा लिने गरिन्छ । गाउँ–गाउँमा सडक बनाउन भन्दै कुनै पहाड, पाखापखेरा उधिन्न बाँकी नराख्ने डोजर सञ्चालक भने कुनै ठेकेदार वा राजनीतिक दलमा आबद्ध व्यापारी वा उस्तै परे स्थानीयतह चुनाव जितेका मेयर, उपमेयर वा वडाध्यक्ष हुने गर्छन्। त्यही भएर स्थानीयतहमा डोजर भ्रष्टाचारको साधन बन्दै आएको छ ।
तर, पछिल्लोपटक काठमाडौंका मेयर साहले भने डोजरलाई विकासको पर्यायका रूपमा प्रयोग गरिरहेका छन् । उनको डोजर अझ तीव्र गतिमा अनधिकृत संरचना भत्काउँदै विकासपथमा लम्किरहोस्, हरेक काठमाडौंवासीको यही छ चाहना ।