काठमाडौं । बैंकबाट नयाँ ऋण नपाउनु, बजारबाट उधारो नउठ्नु अनि उत्पादित सामानको मागमा निरन्तर गिरावट आउन थालेपछि उद्योगी उत्पादन घटाउनेतिर लागेका छन् ।
सरकार माग बढाउनभन्दा घटाउन क्रियाशील भएपछि उद्योगी पनि उत्पादन कटौतीतिर लागेका हुन् । उद्योगी–व्यवसायी लामो समयदेखि नगद अभावको मारमा छन् । अचल सम्पत्ति भए पनि नगद अभावको असर उद्योगका उत्पादनसम्म परेको छ ।
‘कच्चापदार्थ आयात गर्दा लाग्ने खर्च उच्च छ, तै पनि पाइँदैन । बल्ल–बल्ल पाइयो भने फ्रेटको लागत छोइनसक्नु छ । यस्तो बेला व्यापार नघटाई सुखै छैन,’ सौरभ समूहका प्रबन्ध निर्देशक विष्णु न्यौपानेले क्यापिटल नेपालसँग भने, ‘दैनिक उपभोग्य वस्तु उत्पादन र माग ठिकठाक होला । तर, अन्य उत्पादन टिक्न धौधौ भइसकेको अवस्था छ ।’
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष ०७८/७९ मा नेपालीको भान्छा निकै नै महँगिएको छ । खाद्य तथा पेय पदार्थ समूहमा पर्ने घिउ र तेलमा २६.१३ प्रतिशतसम्म र दाल तथा गेडागुडीमा करिब १० प्रतिशत मूल्य बढेको छ ।
यसबाट आममानिसको दिनचर्या नै महँगो भइदिएको छ । गैरखाद्य तथा सेवा समूहमा १५.८२ प्रतिशत र शिक्षामा ८.७८ प्रतिशत मूल्य बढेको अवस्थामा आयातित वस्तु र सेवा आपूर्ति व्यवस्थापन भइरहेकाले विदेशी विनिमयमा दबाब देखिएको छ ।
बैंकबाट थप ऋण नपाउनु, बजारमा छरिएर रहेको उधारो नउठ्नु, सरकारले पुँजीगत खर्चको रफ्तार नबढाउनुलगायत अहिलेका प्रमुख समस्या हुन् ।
तर, उद्योगीले बैंकलाई तिर्ने ब्याज बढोत्तरी हुनु, उद्योगको निश्चित खर्चमा कुनै कमी नआउनु, लागत निरन्तर बढ्दै जानु, माग घट्दै गएकाले बाध्य भएर व्यापार घटाउनुपर्ने अवस्था आएको उद्योगीका तर्क छन् ।
उद्योगी राजेशकुमार अग्रवालका अनुसार अहिले माग बढ्नु त परै जाओस् उल्टै घटेर गएका कारण सिमेन्ट उद्योग, स्टिल उद्योगमा नकारात्मक असर देखिएको छ । अहिले व्यक्तिगत नयाँ घर, मल वा व्यावसायिक भवन पनि निर्माण भएका छैनन् ।
अर्कातिर, वित्तीय क्षेत्रमा देखिएको तरलता अभावले कर्जा प्राप्त नहुँदा उद्योगले थप समस्या झेल्नुु परिरहेको छ । पुँजी निर्माण गर्ने काममा सरकारको ध्यान नजाँदा औद्योगिक क्षेत्र थप दबाबमा परेको अग्रवालको भनाइ छ ।
यसबीच ब्याजदर ५० प्रतिशत बढिसकेको छ । त्यो पनि राज्यकै कारण भएको अग्रवाल बताउँछन् । पुँजीगत खर्च नभएपछि भएभरको रकम राज्यकोषमै छ । बैंकहरू नयाँ कर्जा दिन सक्ने अवस्थामै छैनन् । भर्खरै केन्द्रीय बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनले थप समस्या सिर्जना गरेको उद्योगीहरूको गुनासो छ ।