काठमाडौं । गैरआवासीय नेपालीले प्रवर्द्धन गरेको तमोर सानिमा इनर्जी लिमिटेडले अर्धजलाशय (पीआरओआर) आयोजना निर्माण गर्ने भएको छ ।
सानिमा ग्रुपअन्तर्गतको तमोर सानिमा कम्पनीले २८१ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजना निर्माण गर्न लागेको हो । कम्पनीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट २८५ मेगावाटसम्म विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाएको छ । २०७५ जेठ २७ गते तमोर सानिमाले आयोजनाबाट बिजुली उत्पादन गर्न मन्त्रालयबाट लाइसेन्स पाएको हो ।
अर्धजलाशय माथिल्लो तमोर आयोजना बनाउन ४५ अर्ब ९५ करोड ५० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । आयोजनाबाट वार्षिक १ अर्ब ४७ करोड ९८ लाख युनिट बिद्युत ऊर्जा उत्पादन हुने अध्ययनले देखाएको छ । जसअनुसार १ अर्ब ३ करोड ३६ लाख र सुक्खायाममा ४४ करोड ६२ लाख १६ हजार युनिट बिजुली उत्पादन हुने छ । अर्धजलाशय आयोजनाले सुक्खायाममा ६ घण्टासम्म पूर्ण क्षमतामा बिजुली उत्पादन गर्नेछ ।
कम्पनीले आयोजनाबाट उत्पादन हुने बिजुली बेच्न विद्युत नियमन आयोगमा दर निर्धारण र विद्युत खरिद सम्झौता (पीपीए) का लागि निवेदन दिएको छ । आयोगले पीपीए दर निर्धारण र सम्झौताको स्वीकृतिका लागि भदौ ३० गते सार्वजनिक सुनुवाइको आयोजना गरेको छ ।
नेपाल विद्युत प्राधिकरणले आयोजनाबाट उत्पादन हुने बिजुली बर्खामा प्रतियुनिट ४ रुपैयाँ र सुक्खायाममा (पिकिङ) अवधिका लागि प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र पिकिङ नभएको अवधिका लागि प्रतियुनिट ८ रुपैयाँ ४० पैसा निर्धारण गरेको नियमन आयोगले जनाएको छ । यस्तै प्रस्तावित आयोजनाको पीपीए दरअनुसार वार्षिक ३ प्रतिशतका दरदे ८ पटकसम्म मूल्यवृद्धि हुनेछ ।
आयोजना ताप्लेजुङको फक्तालुङ गाउँपालिका र फुङलिङ नगरपालिकामा पर्छ । ग्रुपले विभिन्न सहायक कम्पनीमाफर्त २८ मेगावाटको तल्लो लिखु, १४ मेगावाटको मैलुङखोला, ७३ मेगावाटको तमोर आयोजना निर्माण गरिरहेको छ । यस्तै ६० मेगावाटको जुमखोला आयोजना पनि निर्माणको तयारी भइरहेको छ । सानिमा ग्रुपले जलविद्युत आयोजनामा लगानी बढाइरहेको छ ।
सानिमा ग्रुपको सानिमा माई हाइड्रोपावर लिमिटेडले विभिन्न पाँच एसोसिएट कम्पनीहरूमा झन्डै २ अर्ब रुपैयाँ सेयर लगानी गरेको छ ।
हाइड्रोपावर कम्पनीले श्वेतगंगा हाइड्रोपावर, सानिमा मिडिल तमोर, माथिल्लो मैलुङ खोला जलविद्युत, बाबरी कन्स्ट्रक्सन र सानिमा जुम हाइड्रोपावर कम्पनीमा लगानी रहेको छ । पाँच कम्पनीमा सानिमा माईको १ अर्ब ७४ करोड ७ लाख रुपैयाँ लगानी रहेको छ ।
सानिमा माई हाइड्रोपावर कम्पनीको श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सनमा ४५ करोड रुपैयाँ लगानी रहेको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीमा ५३ करोड ३२ लाख, माथिल्लो मैलुङ खोला जलविद्युतमा २३ करोड ७५ लाख, बाभेरिया निर्माण कम्पनीमा ५० लाख रुपैयाँ र सानिमा जुम हाइड्रोपावर कम्पनीमा ५० करोड लगानी रहेको छ ।