काठमाडौं । काभ्रेपलाञ्चोक र रामेछापको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोसी–३ जलाशययुक्त जलविद्युत आयोजना बनाउन संयुक्त कम्पनी गठनका लागि नेपाल र बंगलादेश सहमत भएका छन् ।
बुधबार सहसचिवस्तरीय संयुक्त कार्यसमूहको चौथो बैठकले तयार पारेको सहमतिलाई अन्तिम रुप दिन बिहीबार काठमाडौंमा बसेको सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले आयोजनाअघि बढाउन संयुक्त उपक्रम गठनमा सहमति जुटाएको हो ।
आयोजना विकास सम्बन्धमा वातावरणीय अध्ययन प्रतिवेदन यथासिघ्र बंगलादेशलाई उपलब्ध गराउने र त्यसमा उसले आफ्नो धारणा दिने भएको छ । आयोजनामा भारतलाई पनि सहभागी गराइ त्रिदेशीय लगानी गर्ने विषयमा दुई देशका सहसचिवबीच सहमति भएको छ ।
सहमतिलाई प्रस्तावित जलासययुक्त आयोजनाअघि बढाउन बाटो खुलेको छ । आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ । आयोजनाबाट वार्षिक २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । हिउँदमा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ ।
यस्तै बैठकले बंगलादेशको भेरामारामा रहेको हाइभोल्टेज डाइरेक्ट करेन्ट संरचनाको बाँकी रहेको क्षमताको उपयोग गरी ५० मेगावाटसम्म बिजुली निर्यात हुने देखिएकाले यसका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनपीटीसी विद्युत व्यापार निगम (एनभीभीएन) बीच त्रिपक्षिय विद्युत व्यापारका लागि अनुरोध गर्ने निर्णय भएको ऊर्जा मन्त्रालयका प्रवत्ता मधुकुमार भेटवालले बताए ।
उनका अनुसार नेपाल–बंगलादेश डेडिकेटेड विद्युत प्रसारण लाइन बनाउन त्रिपक्षिय समझदारीका लागि सहमति जुटाउन प्रयास गर्ने भएको छ ।
यस्तै आगामी सेप्टेम्बरभित्र जीएमआर अपर कर्णाली हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ९०० मेगावाट माथिल्लो कर्णालीको ५०० मेगावाट बिजुली खरिदबिक्रीका लागि बंगलादेशको बोर्डसँग सम्झौता हुने जानकारी गराइएको छ ।
आयोजनाबाट उत्पादन हुने सबै बिजुली बंगलादेशमा निर्यात हुने भएको छ । त्यसका लागि भारतको प्रसारण लाइन संरचना प्रयोग गर्नुपर्ने हुन्छ । उक्त संरचना प्रयोगका लागि भारतको सहयोग माग्ने विषयमा दुई देशका सहसचिवबीच सहमति भएको छ । बंगलादेशमा बिजुली निर्यातका लागि भारतलाई मनाउन दुवै देशले पहल गर्ने भएका छन् ।
बैठकमा नेपालको तर्फबाट ऊर्जासचिव सुशीलचन्द्र तिवारी र बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्व गरेका थिए ।