काठमाडौं । पछिल्लो समय हवाई इन्धनमा भएको मूल्य वृद्धिपछि बढेको भाडाको प्रभाव ‘आउटबाउन्ड’ (देश बाहिर घुम्न जाने) पर्यटनमा देखिएको छ ।
खासगरी नेपाली दसै र तिहारबीचमा विदेश घुम्न जाने गरेका थिए । तर, अहिले हवाई भाडा बढेसँगै घुम्न जाने संख्या कम हुन थालेको व्यवसायीको भनाइ छ ।
बिदा मनाउन जाने मध्यमवर्ग हवाई भाडाको मारमा परेको ट्राभल कम्पनी इजी ट्रिपका सञ्चालक सुदेश गौतम क्षेत्रीले जानकारी दिए । विदेश घुम्न जानेको ‘इन्क्वायरी’ धेरै भए पनि महागो प्याकेज आउन थालेपछि उनीहरू नजाने ‘मुड’ बनाउन थालेको उनको भनाइ छ ।
नेपालीको मुख्य गन्तव्य भनेको थाइल्यान्डको बैंकक हो । तर, अहिले बैंककसम्मको हवाई भाडा नै दुईतर्फी ६०/७० हजार रुपैयाँसम्म पुगेको छ ।
कोभिड अघिसम्म थाइल्यान्डको यो भाडा २२/२३ हजारसम्म र ५० हजारसम्ममा तीन रात चार दिनको ‘प्याकेज’ पाइन्थ्यो । तर, अहिले हवाई भाडा लगभग सतप्रतिशत नै बढेको र प्याकेज पनि ह्वात्तै बढेको उनले जानकारी दिए ।
इजी ट्राभलले हाल थाइल्यान्ड प्याकेजका लागि ८५ हजारसम्म लिँदै आएको क्षेत्रीले बताए । ‘मध्यमवर्गीय मात्र होइनन, अहिले कर्पोरेट टुरसमेत कम भएको छ,’ क्षेत्रीले क्यापिटल नेपालसँग भने, ‘कर्पोरेट हाउसहरूले खर्च कटौती गरेका कारण विदेश घुम्न जाने प्याकेज बिक्री कम भएको हो ।’
पहिला–पहिला विभिन्न कम्पनीले आफ्ना कर्मचारी, डिलर, एजेन्टलाई विभिन्न मुलुक घुमाउन लैजान्थे । आफ्नो कम्पनीमा आर्कषण बढाउन पनि विदेश टुरको प्याकेज दिने गरेका थिए । कोभिडपछि भने त्यस्ता प्याकेज कम गराउँदै आएका छन् ।
त्यसैगरी स्वाँ होलिडेजकी सञ्चालक जिस्वाँ तुलाधरले हवाई भाडा वृद्धि र अमेरिकी डलरको मूल्य वृद्धिको प्रभाव आउटबाउन्ड पर्यटनमा देखिएको बताइन् ।
‘पहिलाको तुलनामा अहिले हवाई भाडा सतप्रतिशत नै बढेको छ,’ तुलाधारले भनिन्, ‘जसका कारण विदेश घुम्न जानेको संख्या ४० प्रतिशतले घटेको छ ।’
डलरको मूल्य बढेसँगै होटलले पनि मूल्य बढाएका कारण होलिडे प्याकेज पनि महँगो भएको उनले बताइन् । यसले गर्दा थोरै रकममा घुम्न जानेहरू पनि समस्यामा परेको उनको भनाइ छ । योसँगै बिस्तारै कर्पोरेट टुरमा भने सुधार हुन थालेको उनको अनुभव छ ।
तुलाधरका अनुसार पहिलाको दाँजोमा ३० देखि ४० प्रतिशत कर्पोरेट टुर घटेको छ । यद्यपि, दसैं र तिहार बिदामा घुम्न जान इन्क्वायरी गर्नेको संख्या केही बढेको छ ।
कोभिड अगाडि दसैं र तिहार बिदामा मात्र २७ हजारभन्दा बढी नेपाली विदेश घुम्न जाने गरेको तथ्यांक पर्यटन व्यवसायीले निकालेका थिए । नेपालीहरू वार्षिक कति संख्यामा विदेश घुम्न जान्छन् भन्ने यकिन तथ्यांक भने कुनै निकायसँग नभए पनि कोभिड अघिसम्म एक वर्षमा ७ लाखभन्दा बढी घुम्न जाने गरेको व्यवसायीले दाबी गर्दै आएका छन् ।
आउटबाउन्डमा जाने घट्दा आन्तरिकमा फाइदा
घुम्न सौखिन नेपालीका लागि आउटबाउन्ड प्याकेज महँगो भएपछि आन्तरिक पर्यटनमा ठूलो राहत मिलेको छ । कोभिडपछि विदेश घुम्न जानेको संख्या घटे पनि आन्तरिकमा भने ‘बुम’ नै भएको छ ।
केही वर्षयता दसैं र तिहारबीचमा नेपालका अधिकाशं पर्यटकीय गन्तव्यमा चहलपहल बढेको थियो । यो वर्ष पनि दसैं र तिहार बिदामा पर्यटकीय गन्तव्यमा चहलपहल बढ्ने अपेक्षा व्यवसायीको छ ।
डलर विदेश जान रोकियो
नेपाल राष्ट्र बैंकले निकालेको आर्थिक वर्ष २०७४/७५ को तथ्यांकअनुसार करिब ६० अर्ब रुपैयाँ विदेश भ्रमणका लागि भनेर विभिन्न बैकले डलर सटही गरेका थिए । यो तथ्यांकबाट ५० प्रतिशतमात्र घुम्नकै लागि भनेर जानेले एक वर्षमै ३० अर्ब खर्च गर्ने अनुमान पर्यटन व्यवसायीको छ ।
विभिन्न कर्पोरेट हाउसबाट प्रवर्द्धननात्मक कार्यक्रमदेखि डिलरमिटसम्मका कार्यक्रम नेपालबाहिर हुन थालेपछि विदेश घुम्न जाने नेपालीको संख्या बढेको हो । तर, पछिल्ला केही वर्षदेखि विदेश घुम्न जानेको संख्या घटेपछि डलरसमेत बाहिर जानबाट रोकिएको छ। जुन, नेपालका लागि सुखद पक्ष भएको एक व्यवसायीले बताए ।