काठमाडौं । काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठले महानगरका मेयर बालेन साहले शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
महानगरले अवैध संरचना हटाउने अभियान सुरु गर्दा साना व्यापारीहरु मर्कामा परेको भन्दै उनले गम्भीर आपत्ति जनाएको हुन् । घरधनी र महानगरबीचको विवादको भुङ्ग्रोमा व्यापारीलाई पारिएको उनको दाबी छ । अध्यक्ष श्रेष्ठले करौडौं लगानी गरेका व्यावसायीमाथिको धरपकड तत्काल बन्द गर्नसमेत आग्रह गरे ।
उद्योग वाणिज्य महासंघको केन्द्रीय उपाध्यक्षसमेत रहेका श्रेष्ठले प्रश्न गरे ‘अहिलेको विवाद घरबेटी र महानगरको हो, यसमा किन साना व्यवसायीको बिचल्ली बनाइयो ?’ जननिर्वाचित मेयरले शक्तिको दुरुपयोग गरेकाे आराेप लगाउदै श्रेष्ठ प्रश्न गर्छन्, 'आफ्नो कर तिरेको सम्पत्तिमा आफ्नो अधिकार किन हुन्न ?
श्रेष्ठले मेयरको अभियानले दसैंको मुखैमा व्यवसायीमाथि भएको अन्यायबारे साझा धारणा बनाउन संघको आपतकालीन बैठक बोलाइएको जानकारी दिए । यस्तै, उनले उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले पनि यस विषयमा साझा धारणा बनाउने बताए ।
'काठमाडौं, उद्योग वाणिज्य संघको आपत्कालिन बैठक बस्न लागेको छ,' उनले भने 'महासंघले पनि साझा धारणा बनाउन अध्यक्षसँग कुराकानी गर्दैछु।’
कोभिड-१९ र आर्थिक संकटको मारमा परेको उद्योगीमाथि मेयरले अन्याय गरेकाे बताए । श्रेष्ठले मेयर साहलाई शक्ति परिचालन सही ठाउँमा गर्न सुझावसमेत दिए ।