काठमाडौं । काभ्रेपलाञ्चोक र रामेछापको सीमानामा पहिचान भएको ६८३ मेगावाटको सुनकोसी–३ जलाशययुक्त जलविद्युत आयोजनामा संयुक्त लगानीमा बनाउन बंगलादेश तयार भएको छ ।
बुधबार राजधानीमा सुरु भएको दुवै देशका सहसचिवस्तरीय बैठकमा सुनकोसी आयोजना नेपाल र बंगलादेशले संयुक्त लगानीमा बनाउन सहमति गरेका हुन् । आयोजनामा भारतलाई पनि सहभागी गराइ त्रिदेशीय लगानी गर्ने विषयमा दुई देशका सहसचिवबीच सहमति भएको छ ।
आयोजनाबाट उत्पादन हुने सबै विजुली बंगलादेशमा निर्यात हुने भएको छ । त्यसका लागि भारतको प्रसारण लाइन संरचना प्रयोग गर्नुपर्ने हुन्छ । उक्त संरचना प्रयोगका लागि भारतको सहयोग माग्ने विषयमा दुई देशका सहसचिवबीच सहमति भएको छ । बंगलादेशमा बिजुली निर्यातका लागि भारतलाई मनाउन दुवै देशले पहल गर्ने भएका छन् ।
आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ । आयोजनाबाट वार्षिक २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । हिउँदमा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ ।
सहसचिवस्तरीय बैठकले गरेको सहमति बिहीबार बस्ने दुई देशको संयुक्त सचिवस्तरीय संयुक्त निर्देशक समिति बैठकमा पेस हुनेछ । सचिवस्तरीय बैठकले सहमति जुटाइने छ ।
बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली अहिले काठमाडौंमा छ । सचिव रहमानले सोमबार आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरे ।
नेपालले २०७५ साउन २५ मा भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत क्षेत्रमा सहकार्यका लागि पाँच जलविद्युत आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो। पहिलो चरणमा सुनकोसी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्तरूपमा स्थलगत भ्रमण गर्ने बैठकमा सहमति भएको थियो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले कोसी नदी जलस्रोत विकास अध्ययन क्रममा सन् १९८५ मा आयोजना पहिचान गरेको थियो । जाइकाले गरेको अध्ययनलाई २०१४ मा अध्यावधिक गरिएको थियो ।
विपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिको सिमानामा पर्ने लुभुघाटमा १ सय ८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिने छ । आयोजनाको जलाशय ४५ वर्गकिलोमिटर माथिसम्म फैलिन्छ । जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिने छ ।
इआइए प्रतिवेदनअनुसार आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुनेछन् । आयोजनाबाट ३ हजार २ सय ३७ हेक्टर जग्गा डुबानमा पर्ने छ ।
यसका लागि ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्ने छ भने ६ सय ५५ हेक्टर वन क्षेत्रको जग्गा पर्ने छ । आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने अनुमान छ ।