काठमाडौं । मोबाइल वालेट कम्पनी डिजी पे र नाइस टेलिभिजनबीच सहकार्यको लागि ऐतिहासिक सम्झौता भएको छ । टेलिभिजनमार्फत् व्यवसायिक प्रवर्द्धनका लागि नेपालमै नौलो सम्झौता भएको हो ।
सम्झौताअनुसार डिजी पेको व्यवसायीक आबद्ध योजनाअनुरुप कम्पनीसँग आबद्ध हुने व्यवसायीले नाइस टेलिजिभजनमा एक लाख ५० हजार मूल्य बराबरको विज्ञापन तीन महिनासम्म निशुल्क गर्न पाउने भएका छन् । साथै अन्य विज्ञापनमा पनि विशेष छुटको व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा नाइस टेलिभिजन एच डीका अध्यक्ष आर्शिवाद पुन र डिजी पेका अध्यक्ष दिवाकर बहादुर पाण्डेले हस्ताक्षर गरेका छन् । नेपालकै दोस्रो एच डी टेलिभिजन च्यानेल नाइस टेलिभिजन एचडीसँग ‘अब टीभीमा विज्ञापन सबैका लागि’ भन्ने नाराका साथ फरक खालको सम्झौता गर्न पाउँदा निकै खुसी लागेको डिजी पेका पाण्डेले बताए ।
'टेलिभिजनमा विज्ञापन ठूला कम्पनीहरुले मात्र गर्छन् भन्ने हाम्रो मानसिकता छ, यसलाई चिर्दै अब ठूला साना सबै फर्म तथा पसलले एचडी टेलभिजनमा आफ्नो उत्पादन वा ब्रान्डको विज्ञापन सित्तैमादेखि निकै कम खर्चमा गर्न सक्ने अवस्था सिर्जना गरेका छौं,' पाण्डेले भने, 'डिजी पेमा आवद्ध हुँदा पाउने प्याकेज सुविधामा टेलिभजिनमा गरिने अन्य विज्ञापनमा पनि विशेष छुट तथा डिजी पेको लोयल्टी पोइन्ट गोल्ड तथा सिल्वर क्यासमा खरिद गर्न पाउने व्यवस्था गरेका छौं।'
नाइस टेलिभिजन एचडीका अध्यक्ष पुनले डिजी पेसँग नौलो सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । नाइस टेलिभिजन एच डीको सामाजिक उत्तरदायित्व योजना अन्तर्गत डिजी पेसँग आबद्ध सबै व्यवसायीहरुले आफ्नो व्यवसायको प्रचार प्रसार, बजार विस्तार र सेवाहरुको जानकारी अब राष्ट्रिय टेलिभिजनबाट विज्ञापनमार्फत जनमानस पर्याएर लाभ लिन सक्ने बताए ।
टेलिभिजनमा विज्ञापन महंगो हुने भएकाले साना व्यवसायीले गर्न सक्दैनन् भन्ने धारणालाई यो सम्झौताले फेरिदिएको पाण्डेको भनाइ छ । 'अब यो सहकार्य अनुसार ठूूलादेखि साना व्यवसायीले पनि आफ्नो विज्ञापन टेलिभिजनमा प्रति महिना रु पचास हजारका दरले तिन महिनाको लागि निशुल्क गर्न पाउने छन्,' उनले भने ।
यसअघि डीजी पेले स्टार अस्पतालसँग पनि सहकार्य सुरु गरिसकेको छ । जस अनुसार डीजी पेका ग्राहकले स्टार अस्पतालमा विभिन्न छुटको व्यवस्था गरिएको छ । डीजी पे नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी हो । यसले अनलाइन र अफलाइन दुबै माध्यमबाट रकमको डिजिटलाइजेनका लागि कार्य गरिरहेको छ ।