काठमाडौं । एनआईसी एसिया क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले आ.व. २०७८/७९ मा १२ करोड ८ लाख खुद नाफा गरेको बताएका छन् ।
क्यापिटलकाे बुधबार सम्पन्न छैठौं वार्षिक साधारणसभामा बाेल्दै अध्यक्ष ढकालले प्रति सेयर आम्दानी ६०.३९ कायम गरी संचालनमा रहेका मर्चेन्ट बैंकमध्ये खुदनाफाको आधारमा पहिलो स्थान हासिल गर्न समेत सफल भएको जानकारी दिए ।
यस्तै, सभाले सामान्य प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेकाे छ ।
सभाले असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गरेको छ ।
यस्तै, संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५५ प्रतिशत (करसहित) का दरले हुन आउने ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
उनले क्यापिटल स्थापना भएको ५ वर्ष ४ महिनाको छोटो अवधिमै हाल संचालनमा रहेका ३० वटा मर्चेन्ट बैंकहरुमध्ये निक्षेप सदस्य सेवाअन्तर्गत ६ लाख डिम्याट खाता खोली पहिलो स्थान हासिल गरेकाे जानकारी दिए ।
यस्तै, म्युचुअल फन्ड सेवाअन्तर्गत एउटा खुलामुखी योजनासहित ५ वटा योजना सञ्चालन गरी म्युचुअल फन्डको संख्या तथा व्यवस्थापन गरेको रकमको आधारमा पहिलो स्थान र लगानी व्यवस्थापन सेवाअन्तर्गत ५७३ जना ग्राहकहरुबाट एक अर्ब ६७ करोड भन्दा बढी रकम संकलन गरी तेश्रो स्थान हासिल गर्न सफल भएको उनले जानकारी बताए ।
साथै, क्यापिटल सञ्चालनमा आएको ५ वर्ष ४ महिनाको अवधिमै आफ्नो सेयरधनीलाई १४१ प्रतिशत भन्दा बढी रिर्टन वितरण गर्न सफल भएकोसमेत उनले जानकारी दिए ।
अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीतिअनुरुप संस्थाले डिम्याट खाता र मेरो सेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पुनस् खरिद तथा लगानी व्यवस्थापन सेवासमेत अनलाइनमार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।