काठमाडौं । दसैंका लागि नयाँ नोट भदौ तेस्रो सातापछि मात्र साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले भदौ २१ पछि मात्र नयाँ नोट साट्ने सुविधा मिलाउने जनाएको छ ।
गत वर्ष राष्ट्र बैंकले असोज ४ गतेदेखि दसैंकाे लागि नयाँ नोट सहटी सुविधा उपलब्ध गराएकाे थियो। गत वर्ष असोज अन्तिमा परेको दसैं यस वर्ष तेस्रो सातामा परेको छ ।
यस वर्ष दसैं चाडैं परेकाले भदौमा नयाँ नोट सटही गर्न पाइने सुविधा मिलाइने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले गत वर्ष प्रति व्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो ।
यो वर्ष दसैंको लागि सहज रुपमा नयाँ नोट सटहीको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले बताए। ‘दसैंकाे लागि नयाँ नोट भदौ २१ पछि वितरण गर्ने तयारी भइरहेको छ,’ उनले भने, ‘कुन दिनबाट वितरण गर्ने मिति तय भएको छैन । तर, यस वर्ष सहज रुपमा नयाँ नोट वितरण हुनेछ।’
आन्तरिक छलफल पश्चात नयाँ नोट वितरण मिति तय हुने नेपालले जानकारी दिए । गत वर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति साढे १८ हजारको दरले कुल ३५ अर्ब रुपैयाँ नयाँ नोट वितरण गर्ने योजना बनाएको थियो ।
योजना अनुसार गत वर्ष नयाँ नोट वितरण नभएको मुद्रा व्यवस्थापनका एक अधिकारीले बताए। ‘गत वर्ष साढे १८ हजार प्रति व्याक्तिका दरले नयाँ नोट वितरण गर्ने योजना थियो,’ उनले भने, ‘दसैं नजिकिएसँगै बैंकमा नयाँ नोट लिन आउने संख्या घट्दै जाँदा योजनाअनुसार नयाँ नोट वितरण भएन ।’ दसैंमा नयाँ नाेट बाँड्नको लागि राष्ट्र बैंकमा स्टक प्रयाप्त रहेको उनले बताए ।
‘राष्ट्र बैंकमा यो वर्ष बाँड्न प्रयाप्त नयाँ नोट छ,’ उनले भने ‘भदौ दोस्रो सातासम्म हामीसँग कति स्टक रहन्छ। त्यसलाई हेरेर कसरी बाँड्ने, कसरी दिने भन्ने आन्तरिक प्रक्रिया पूरागरी स्वीकृत लिइसकेपछि सूचना प्रकाशित गर्छौ।’
गत वर्षको तुलनामा यस वर्ष नयाँ नोट सटही गर्नेको संख्या घट्न सक्ने उनको भनाइ छ। गत वर्ष काठमाडौं उपत्यकाभित्र इजाजत प्राप्त वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको थियो ।
काठमाडौं उपत्यका बाहिर भने राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने व्यवस्था गरेको थियो । यो वर्ष पनि गत वर्षको जस्तै नयाँ नोट सटही सुविधाको व्यवस्था मिलाइने मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।