काठमाडौं । नेपालमा रेल सञ्चालन गर्दा वार्षिक ४५ करोड ४४ लाख रुपैयाँ घाटा बेहोर्नु परेको छ । नेपाल रेल्वे कम्पनीका अनुसार रेलमा आवतजावत गर्ने यात्रुले तिर्ने भाडाभन्दा कम्पनीको अन्य आयस्रोत नहुँदा घाटा बेहोर्नु परेको हो ।
नेपालमा रेल सञ्चालन भएपछि दैनिक दुई लाख १० हजार रुपैयाँको टिकेट बिक्रि हुँदै आएको बताइएको छ । यसरी हेर्दा वार्षिक सात करोड ६६ लाख रुपैयाँ आम्दानी हुन्छ ।
तर, रेल सञ्चालन र मर्मतको लागि भारतलाई नेपालले राजस्वसहित ४८ करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ । त्यस्तै, रेल सञ्चालनका लागि आवश्यक जनशक्ति पनि भारतकै रहेकाले कर्मचारीको तलबका लागि वार्षिक तीन करोड तथा रेल्वे इनधनको वार्षिक खर्च दुई करोड १० लाख रुपैयाँ खर्च हुन्छ।
समग्रमा ५३ करोड १० लाख रुपैयाँ खर्च हुँदा सात करोड ६६ लाख रुपैयाँ मात्रै आम्दानी हुने गरेको कम्पनीले जनाएको छ। बुधबार प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिमा बोल्दै कम्पनीका निरञ्जन झाले रेल सञ्चालन मात्रै गरेर नभइ आम्दानी बढाउनतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन्।
उनका अनुसार आम्दानी बढाउनको लागि कार्गो रेल सञ्चालन गर्नुपर्ने हुन्छ। समितिकी सभापति कल्याण कुमारी खड्काले डिजेलबाट चल्ने रेल नभइ विद्युतिय रेल सञ्चालन गर्नतर्फ ध्यान पुर्याउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेकी छन्। छलफल कार्यक्रममा बोल्दै भौतिक मन्त्रालयका सचिव गोपाल सिग्देलले समितिको सुझावअनुसार विद्युतिय रेल सञ्चालनतर्फ मन्त्रालय अगाडि बढ्ने बताएका छन्।
जनशक्ति व्यवस्थापन गर्नुपर्ने, आवश्यक बजेटको व्यवस्था रेल्वेको सम्पत्ति सुरक्षाको लागि सशस्त्र प्रहरीलाई खटाउनुपर्ने माग कम्पनीले गरेको छ। पछिल्लो समय २०७८ चैत २० गतेबाट नेपालको कुर्था देखि भारतको जयनगसम्म ३५ किलोमिटर क्षेत्रमा रेल सेवा सञ्चालन भइरहेको छ।