काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीले नेपालीकाे महान चाड दसैंमा हात खाली राख्ने सम्भावना बढेको छ । घटस्थापना सुरु हुन एक महिना बाँकी रहँदा कुनै पनि कम्पनीले लाभांश घोषणा गरेका छैनन् ।
दसैंका लागि लाभांशमध्ये पनि नगद लाभांश प्राप्त गर्ने अपेक्षा गरेर बसेका लगानीकर्ता निराश हुनुपर्ने स्थिति सिर्जना भएको छ । तरलता (लगानीयोग्य रकम) अभावले छटपटिरहेका सेयर बजारका लगानीकर्ता दसैंअघि लाभांश नआउने भएपछि थप पीडित बन्ने स्थिति देखिएको छ ।
बैंक तथा वित्तिय संस्थाले पनि कर्जा लगानीमा कडाइ गरिरहेका छन् । कतिपय लगानीकर्ताले सेयर बजारबाटै पैसा उठाएर ठूला चाडपर्व मनाउने गर्छन् । यस्तो अवस्थामा कुनै पनि संस्थाले लाभांश घोषणा नगर्दा कतिपय लगानीकर्ता अलमलमा छन् ।
निरन्तर घट्दो बजारमा सेयर बेचेर जान सक्ने स्थिति कतिपय लगानीकर्ताको छैन । खासगरी बैंक तथा वित्तीय संस्थाको लाभांश घोषणामा केन्द्रीय बैंकले विगत वर्षभन्दा केही खुकुलो नीति अख्तियार गरेका बेला लाभांश घोषणा हुन सक्ने र दसैंअघि नै दिने अपेक्षा गरिएको थियो । तर, परिस्थितिले दसैंअघि अधिकांश कम्पनीले लाभांश नदिने परिस्थिति सिर्जना भएको छ ।
सञ्चालक समितिले लाभांश घोषणा गरिसकेपछि पनि साधारणसभाले पारित गर्नुपर्छ । अझ नियामक भएको हकमा त उसको स्वीकृति पनि लिनुपर्छ । व्यापार, लगानी, सामूहिक लगानी कोष, उत्पादन तथा प्रशोधनमूलक क्षेत्रले भने नियामकीय प्रावधान पूरा गर्नुपर्दैन । तथापि, साधारणसभाबाट भने पारित गर्नुपर्छ ।
सञ्चालक समितिले लाभांश घोषणा गरेपछि कम्तिमा २१ दिन अगावै वार्षिक साधारणसभा बोलाउनुपर्छ । यस्तो सूचना कम्तिमा दुईपटक राष्ट्रियस्तरको पत्रिकामा प्रकाशित गर्नुपर्छ । यसले पनि आजभोलि नै लाभांश कसैले घोषणा गरे भने थप २१ दिन साधारणसभाका लागि समय कुर्नुपर्ने देखिन्छ । जसले गर्दा दसैं अगाडि नै लाभांश दिने समय छोट्टिँदै गएको देखाउँछ ।
असोज १५ शनिबारदेखि दसैंकाे सार्वजनिक बिदा सुरु हुन्छ । त्यसैले असोज १४ भित्र साधारणसभा गरी लाभांश लगानीकर्ताको खातामा हालिसक्नुपर्छ । जुन कठिन देखिन्छ ।
जीवन बिमाबाहेक कम्पनीले गत वर्षको कमाइबाट चालु वर्ष लाभांश दिने क्षमता राख्छन् । तर, जीवन बिमा कम्पनीका लाभांश घोषणामा भने केही ढिलाइ हुने गर्छ। यतिबेला जीवन बिमा कम्पनीले २०७७/७८ को लाभांश घोषणा गरिरहेका छन् ।
२०७९ असारसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २ सय ३४ छ । तीमध्ये १ सय ४६ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी, ५१ जलविद्युत कम्पनी छन् । जसको नियामक निकाय पनि छ । तर, १९ उत्पादन तथा प्रशोधन, ६ लगानी कम्पनी, पाँच होटल, चार व्यापारिक संस्था र तीन अन्य समूहका कम्पनी छन् । यिनले नियामकबाट साधारणसभा गर्न स्वीकृति लिनुपर्ने स्थिति छैन ।
सामूहिक लगानी कोषले समेत अहिलेसम्म लाभांश घोषणा गरेका छैनन् । जबकि, विगतमा तिनले लाभांश घोषणा गरिसकेका हुन्थे । बैंक तथा वित्तीय संस्था पनि लाभांश घोषणामा प्रतिस्पर्धा गर्दै पहिलो बन्ने होड चलाउँथे । तर, चालु वर्ष कुनै पनि कम्पनीले अहिलेसम्म अग्रसरता देखाएका छैनन् ।