काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले निर्माणधिन राष्ट्रिय राजमार्ग र सडक निर्माणको ठेक्का लिएका व्यवसायीहरुसँग चन्दा मागेर दुःख दिँदै आएको छ ।
आयोजनाको प्रगति कम हुनु र निर्माण कार्य सुस्त हुनुको एउटा कारण विप्लवको चन्दा आतंक पनि रहेको निर्माण व्यवसायीहरुले बताउँदै आएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतका अनुसार निर्माणाधीन हुलाकी, मध्यपहाडी, मदन भण्डारी र उत्तर–दक्षिण लोकमार्ग जस्ता सबै ठूला सडक आयोजना प्रमुख वा प्रतिनिधि तथा इन्जिनियरहरुसँग विप्लव नेतृत्वको माओवादीले चन्दा माग्ने गरेको छ ।
विप्लवका ४ वटा टिम बनेर सडक आयोजना प्रमुख र ठेकेदारहरुसँग लाखौं रुपैयाँ मागेकाले उनीहरु अहिले समस्यामा परेका छन् । आफ्नो तलबबाट कटाएर दिन सकिन्थ्यो, लाखौं रुपैयाँ कसरी दिनु’ एक आयोजना प्रमुखले क्यापिटल नेपालसँग भने ।
विप्लवले चन्दा माग गर्दा मानसिक रूपमा काम गर्न समस्या हुनुका साथै आयोजना स्थलमा समेत काम गर्न समस्या भएको उनको भनाइ छ । सामान्यतयाः आयोजनाको काममा वन, राष्ट्रिय निकुञ्ज, मुआब्जा, बजेट अभाव, रेखांकन परिवर्तन जस्ता समस्या रहेको कुरा बाहिर आउने गर्छ । तर, आयोजनाको निर्माण सुस्त हुनुको अर्को मुख्य अदृश्य कारण बाहिर आउँदैनन् ।
चन्दा माग गर्ने प्रक्रिया पनि प्रत्यक्ष नभइ विभिन्न कार्यक्रम वा प्रयोजनको बाहनासमेत रहेको मन्त्रालयले जनाएको छ । कार्यक्रमका लागि भन्दै लाखौं रुपैयाँ चन्दा माग हुने ती कर्मचारी बताउँछन् । हालसम्म आफूले चन्दा नदिए पनि फोन पटक–पटक धम्की आइरहने गरेको ती अधिकारीको भनाइ छ ।
विप्लवले चन्दा मागेको विषय सार्वजनिक गर्दा आफू र आफ्नो परिवारलाई समेत जोखिम रहने डर रहेको कर्मचारी बताउँछन् । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सञ्चालन हुने अधिकांश आयोजनामा विप्लवले चन्दा माग्ने गरेको छ ।
‘उनीहरुको उद्देश्य चन्दा माग्नुभन्दा अरू केही छैन तर, अति नै गरिसकेका छन् । विभिन्न कार्यक्रमको नाम राखेर पत्र पठाउँछन्’ ती कर्मचारीले भने ‘अरू कुनै दबाब वा धम्कीहरु नआउने तर, फोन र पत्र पटक–पटक पठाएर दुःख दिने गरेका छन् ।’
प्रहरीलाई खबर गरे पनि खासै वास्ता नगरेको ती कर्मचारीले बताए । साथै केहीलाई पक्राउ गरे पनि केही दिनमै छुट्ने र फेरि चन्दा माग्ने गरेको उनी बताउँछन् ।
यता, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राई आयोजनाबाट त्यस्ता गुनासो र उजुरी नआएको बताउँछन् । प्रहरी समक्ष आएका गुनासो र समस्यामा काम गर्न नेपाल प्रहरी तयार रहेको भन्दै उनले उजुरी आएमा कारबाही गर्न तयार रहेको बताए ।
‘चन्दा भनेको आफ्नो इच्छाले दिने हो कसैले जबरस्ती माग्छ भने उजुरी गर्नुपर्छ, जबरजस्ती गर्नेलाई प्रहरी कारबाही गर्न तयार छ । उजुरी गर्नेको नाम गोप्य राखेर पनि हामीले कारबाही गर्छौं, उसै हामीलाई थाहा हुँदैन जानकारी आउनुपर्छ ।’
क्यापिटल नेपालसँग कुरा गर्दै केन्द्रीय प्रहरी प्रवक्ता राईले भने, ‘पक्राउ परेर छिट्टै छुटेको कुरा नियमअनुसार हुन्छ, हामीले सधैं थुनेर राख्न मिल्दैन । अनुसन्धानको प्रक्रिया सकिएपछि छाड्नै पर्ने हुन्छ, त्यो कुरा बुझ्नुपर्छ ।’
व्यवसायीलाई पनि सास्ती
सरकारी कर्मचारीहरुसँग मात्र नभइ विप्लव समूहले निर्माण व्यवसायीसँग पनि चन्दा माग्ने गरेको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहका अनुसार विप्लवको चन्दा माग्ने प्रक्रिया निरन्तर रहेको बताउँछन् ।
नेकपा माओवादी पार्टी फुटेर टुक्राटुक्रा भए पनि कुनै एउटा टुक्राको उद्देश्य नै चन्दा उठाउने जस्तो देखिने उनी बताउँछन् ।
‘विप्लव नै भन्ने होइन, मओवादीको एउटा संगठनको उद्देश्य पैसा उठाउने जस्तो छ । मैले भन्दा दिएको छैन तर, ठाउँ हेरीहेरी पैसाको माग हुन्छ । १० लाख माग गरे भने २०/५० हजार लिएर जान्छन्’ अध्यक्ष सिंहले भने ।
चन्दा माग्दा व्यवसायीहरुलाई मानसिक रुपमा काम गर्न समस्या हुने तथा समय धेरै लाग्ने जस्ता असर पर्ने सिंहको भनाइ छ । त्यस्तै, काम गर्ने उत्साहको साथ आयोजना स्थलमा पुगेको व्यवसायीको उत्साहमा समेत असर गर्ने उनले बताए ।