लिस्वन । नेपाली व्यवसायीले युरोपको पोर्चुगलमा ‘कोल्मिया’ नामक ‘तीन तारे’ होटल सञ्चालनमा ल्याएका छन । पोर्चुगलको लेरियामा युवा व्यवसायी राजकुमार गौतमले सो होटल सञ्चालनमा ल्याएका हुन ।
पोर्चुगलमा तीन तारे स्तरको होटल सञ्चालन गर्ने गौतम नै पहिलो नेपाली व्यवसायी हुन । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याइएको व्यवसायी गौतम बताउँछन । ‘हामीले सबै प्रकारका पाहुनालाई लक्षित गरी होटल सञ्चालनमा ल्याएका हौं’ उनले भने, ‘स्तरीय सेवा दिने हाम्रो लक्ष्य हो ।’
कोल्मिया होटलमा डिलक्स र स्वीट गरी कुल ४५ वटा सुविधासम्पन्न कोठाहरु छन । यसका साथै होटलमा रेष्टुरेन्ट, बार, सेमिनार हल, बैठक हल, गाडी पार्किङ, जिम हल तथा स्वीमिङ पुल लगायतका दर्जन बढी सुविधा छ ।
काभ्रेपलाञ्चोक स्थायी घर भएका गौतम १५ वर्षदेखि पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका छन । साना तथा मझौला रेष्टुरेन्ट सञ्चालन गर्दै आएको गौतम अहिले तारे होटलमा लगानी गर्ने हैसियतमा पुगेका छन । पोर्चुगलको राजधानी लिस्बनमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका गौतमले विस्तारको क्रममा हाल अर्को व्यस्त सहर लेरियामा होटल सञ्चालनमा ल्याएका हुन ।
मेयरले गरे होटलको उद्घाटन
केही समयअघि मात्रै पर्यटकीय क्षेत्र लेरियास्थित मोन्तेरियलमा होटल सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीचमा लेरियाका मेयर गोङसालो लोप्सेले होटलको उद्घघाटन गरेका थिए । उनले पोर्चुगलमा नेपाली लगानी बढेकोमा खुसी व्यक्त गर्दै आवश्यक सहयोगका लागि प्रतिबद्धता जनाए । मोन्तेरियलमा रहेको तातोपानीमा नुहाउनका साथै नजिकै रहेको नजारेको छाल हेर्न हरेक साता पर्यटकहरु पुग्ने गर्छन ।
एसियनको रोजाइमा कोल्मिया
राजधानी लिस्वनदेखि एक घण्टाको दूरीमा रहेको यो होटल नेपालीसँगै एसियन पर्यटकहरुको रोजाईमा परेको छ । लिस्बन, पोर्ती लगायतका सहरमा बसोबास गर्दै आएका नेपाली, भारतीय, पाकिस्तानीलगायत एसियनहरु पनि बिदा मनाउन, घुमफिर गर्न र काम विशेषले लेरिया पुगेकाहरुको पनि होटल कोल्मिया रोजाईमा पर्ने गरेको छ । बेलायत, जर्मनी, फ्रान्स, डेनमार्क, स्पेन, बेल्जियमलगायत युरोपियन मुलुकका पर्यटकहरु पनि होटलमा पुग्ने गर्छन ।
‘शहरी सकसमा बस्न नरुचाउने पर्यटकहरु कोल्मियामा आउने गर्छन’ गौतमले भने, ‘यहाँ समुन्द्रसँगै पर्यटकीय क्षेत्रहरु भएकोले होटलमा एसियन पर्यटकको संख्यामा वृद्धि भएको छ ।’