काठमाडौं । कोभिड संक्रमण सुरु भएसँगै नेपालमा ट्रान्जिट गरेर तेस्रो मुलुकमा जान लाग्दै आएको प्रतिबन्ध हटेको छ । गृह मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएको हो ।
गृह मन्त्रालयका प्रवत्ता फणिन्द्रमणि पोखरेलले कोभिडको बेला नेपालमा थप संक्रमण नफैलियोस भन्ने उद्धेश्यले लगाएको प्रतिबन्धलाई अहिले हटाएको जानकारी दिए । ‘यो पहिला नै हटाउनु पर्ने हो, प्रवक्ता पोखरेलले भने,विविध कारणले रोकिरहेको प्रतिवन्ध हटाएको हो ।’
सरकारले २०७८ वैशाख १३ गते त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई ट्रान्जिटको रुपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएको थियो ।
एयरपोर्ट होटलका सञ्चालक विनायक शाहले सरकारको यो निर्णयले पर्यटन क्षेत्रमा नयाँ भाइब्रेट ल्याउने बताए । प्रतिवन्ध खारेजीका लागि व्यवसायीहरुले लामो समयदेखि माग गर्दै आए पनि बल्ल सरकारले सुनेको उनको भनाई छ ।
विषेश गरेर भुटानी नागरिकहरु नेपालमा ट्रान्जिट गरेर युरोप,अमेरिकामा जानेहरु आउने गरेका थिए । त्यस्तै बंगलादेशका नागरिकहरु पनि नेपालमा आएर जापान,अस्टे«लिया, अमेरिका लगाएतका मुलुकमा जानका लागि आउने गरेका थिए ।
सरकारको यो निर्णयले नेपालको पर्यटन क्षेत्रमा सकरात्मक प्रभाव पार्ने व्यवसायीहरुको भनाई छ । नेपालमा ट्रान्जिटका लागि आउँदा भिसा लगाएर आउनेहरुले यहाँका होटलहरुमा आएर बस्न पाइन्छ । त्यति मात्र हैन सम्बन्धीत एयरलाइन्सले पासपोर्ट धरौटीको रुपमा लिएर उसैको जिम्मामा विमानस्थल वाहिरका होटलमा बस्नसमेत पाउछन् ।
योसँगै कतिपयले नेपालमा एक दिन बस्ने र अर्को दिन उडान गरि अन्य देशमा जान आउनेहरुको संख्या पनि धेरै हुने भएकोले सरकारको यो निर्णय स्वागतयोग्य भएको पर्यटन व्यवसायी योगेन्द्र शाक्यको भनाई छ । सरकारले गरेको निर्णयलाई व्यवसायीहरुले प्रचारप्रसार गरेर अवसरलाई सदुपयोग गर्न सके पर्यटनमा नयाँ उत्साह थपिने उनले बताए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) धन्जय रेग्मीले सरकारको निर्णयले पर्यटन क्षेत्रमा थप उत्साह जगाएको बताए । ‘निर्णय ढिला भए पनि ठिक समयमा भएको छ, सीईओ रेग्मीले भने, यसले आउदो सिजन अक्टोबर र नोभेम्बरलाई थप प्रभावकारी बनाउन सक्छ ।’