काठमाडौं । हेटौंडादेखि काठमाडौंसम्म निजी लगानीमा रोप–वे बनाउने योजना अहिले रोकिएको छ । भौतिक पूर्वाधार तथा मन्त्रालय सकरात्मक नभएपछि परियोजनाको प्रारम्भीक काम रोकिएको हो ।
रोप–वे पूर्वाधार निर्माण तथा सञ्चालनका लागि गोसाइँकुण्ड हिल्सले लगानी बोर्डमा प्रस्ताव पेस गरेको थियो । गोसाईकुण्डले पहिलो बटम स्टेशन राख्न प्रस्ताव गरेको हेटौडाको चौकीटोलमा भौतिक मन्त्रालयले भेहिकल फिटनेस सेन्टर बनाउन लागेपछि रोप–वेको प्रस्ताव अलपत्र परेको हो ।
भौतिक पूर्वाधार मन्त्रालयसँग राय माग्दा सकरात्मक प्रतिक्रिया नदिएको बोर्डले जनाएको छ । गोसाईंकुण्डले पहिलाको रोप–वेको संरचना हटाएर त्यहीबाट नयाँ सञ्चालनको प्रस्ताव गरेको छ । सो संरचनाअनुसार रोप–वेको बटम स्टेशन हेटौंडाको चौकी टोलमा हुनेछ । भौतिक पूर्वाधार मन्त्रालयबाट सकरात्मक प्रतिक्रिया नआएपछि बोर्डले फेरी छलफल थाल्ने भएको छ ।
कम्पनीले हेटौंडादेखि काठमाडौंसम्म ४२ किलोमिटर लामो रोप–वे निर्माण तथा सञ्चालनका लागि प्रस्ताव पेश गरेको हो । कम्पनीले रोप–वे पूर्वाधार बनाउन साढे २१ अर्ब रुपैयाँ लाग्ने अनुमानित लागतसमेत पेश गरेको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारपछि मात्रै लागत यकिन हुनेछ । यो प्रारम्भीक अनुमानित लागत मात्र हो ।
गोसाइँकुण्डले परियोजनाको संभाव्यता अध्ययन, लगानी स्वीकृति र सर्वेक्षणका लागि अनुमति मागेको छ । पहिलाको रोप–वेको संरचनाबाट नयाँ आयोजना बनाउने तयारी गोसाईकुण्डको छ । हिल्सले जापानी कम्पनीसँगको साझेदारीमा बनाउने तयारी गरेको बताइएको छ ।
गोसाईकुण्ड हिल्सले लगानीको प्रस्ताव पेस गरेका बेला यता बागमती प्रदेश सरकारले पनि हेटौंडादेखि काठमाडौं जोड्ने ४२ किलोमिटर लामो रोप–वेको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउने गृहकार्य सुरु गरेको बताएको थियो ।
निजी कम्पनी आउने भएपछि बागमती सरकारले प्रक्रिया अघि बढाएको छैन । प्रदेश सरकार र लगानी बोर्ड दुबैबाट परियोजनाको काम रोकिएको छ । प्रदेश सरकारले रोप–वे सञ्चालनमा ल्याउन गत आर्थिक वर्ष ०७७/०७८ को बजेट विनियोजन गरेको थियो ।
अमेरिकाको आर्थिक तथा प्राविधिक सहयोगमा विंस २०२० देखि हेटौंडा–काठमाडौंको सामान ढुवानीका लागि रोप–वे सञ्चालन हुँदै आएको थियो । प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा २०५६ जेठदेखि रोप–वे बन्द छ । त्यसबेला हेटौडाबाट सिमेन्टलगायत अन्य वस्तु काठमाडौंमा आपूर्ति हुने गरेको थियो ।
लामो समयदेखि बन्द भएपछि अहिले रोप–वेका सबै संरचनाहरू कवाडी बनेका छन । अधिकांश सामानहरू चोरी भइसकेका छन । २०५९ मा प्रधानमन्त्री शेरबहादुर देउवाले रोप–वे खारेजीको निर्णय गरेपछि पुनः सञ्चालनको संभावना टरेको थियो ।
पुरानो रोप–वे सञ्चालनको अवस्थामा हेटौंडाबाट फाखेल, सिस्नेरी, ईपा पञ्चकन्या, कुलेखानीका स्थानीय बासिन्दालाई दैनिक खाद्यान्न, तरकारी, लत्ताकपडा, सिमेन्ट, जस्तापाता र औषधि अत्यन्तै सुपथ मूल्यमा ढुवानी गर्न पाएका थिए ।
त्यसबेला हेटौंडाबाट काठमाडौंको टेकुतर्फ स्थानीय व्यापारीले सिमेन्ट, खाद्यान्न, लत्ताकपडा, जस्तापाता, मार्बल, औषधि, इन्धन ढुवानी गरी सुपथ मूल्यमा पठाउने गरिएको थियो । विशेष गरी हेटौंडा सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट पनि रोप–वेबाट आपूर्ति हुने गरेको थियो ।
हेटौंडाबाट काठमाडौंको टेकुतर्फ स्थानीय व्यापारीले सिमेन्ट, खाद्यान्न, लत्ताकपडा, जस्तापाता, मार्बल, औषधि, इन्धन ढुवानी गरी सुपथ मूल्यमा पठाउने गरिएको थियो । विशेष गरी हेटौंडा सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट पनि रोपवेबाट आपूर्ति हुने गरेको थियो ।
रोपवेको विभिन्न चरणमा विस्तार गरिएको थियो । यो नेपालकै पहिलो रोपवे हो । रोपवेको सुरुवात राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि।सं। १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट मातातीर्थसम्मको २२ किलोमिटरमा सुरु गरेका थिए । यही रोपवेले धोर्सिङबाट काठमाडौंसम्म सामान ढुवानी गथ्र्यौ ।
गाडीबाट हेटौंडा हुँदै भीमफेदी आइपुगेका सामानहरू डिब्बामा लोड गरिन्थे । त्यसबेला सामान ढुवानीलाई सहज बनाउन राणा प्रधानमन्त्री चन्द्रशमशेरले यो रोपवे बनाउन लगाएका हुन् । घण्टामा २५ टन सामान बोक्ने गरेको थियो ।